पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः प्रगतिपथमा प्रशंसा

पाँचौ पोखरा स्पोर्टस् अवार्ड विशेषः प्रगतिपथमा प्रशंसा

prasamsa chhetri (4)

पोखराको सिद्ध मावि, फलेपाटन कक्षा ५ मा पढ्दै गरेकी प्रशंसा क्षेत्रीलाई एक दिन बावुले तेक्वान्दो सिक्न लगे । शुक्रराज तेक्वान्दो डोजाङमा भर्ना भएर उनले आफ्ना गुरु कृष्ण श्रेष्ठसँग खेल सिक्न थालिन् । त्यस बेला १३ वर्षीया सुन्दरी प्रशंसालाई बिस्तारै विभिन्न कौशलले मोह लाग्यो । त्यस दिनदेखि सुरु भएको खेल यात्राले सागमा स्वर्णसम्म चुमेको छ ।

अभिभावक बावुले हात समाउँदै डोजाङ पु¥याएको त्यो क्षण उनलाई ताजै छ । प्रशंसा भन्छिन्, ‘बुवा अहिले संसारमा हुनुहुन्न । यदि उहाँ भएको भए कति खुसी हुुनुहुन्थ्यो होला ।’

सागमा पहिलोपल्ट तेक्वान्दोमा (पुम्से विधा) १३ औं संस्करणदेखि सुरु भएको हो । प्रशंसाको अन्तर्राष्ट्रिय सहभागिता पनि यहीबाट भयो । यसरी पहिलो सहभागितामै २४–२९ वर्ष उमेर समूहमा टिम इभेन्टतर्फ स्वर्ण जितेर नाम चम्काउन सफल भएकी हुन् ।

२०५१ सालमा जन्मेकी उनको जन्मस्थल स्याङ्जाको हरिनास गाउँपालिका–२, चिसापानी हो । बावु पिनराज भण्डारी क्षेत्री र आमा धनमाया भण्डारी क्षेत्रीका ४ सन्तानमा उनका १ दाइ र २ भाइ छन् । स्याङ्जाबाट पोखरा बसाइँ सरेसँगै उनले सिद्ध माविबाटै एसएलसी उत्तीर्ण गरिन् । जिल्ला, क्षेत्रीय स्तरको प्रतियोगिता जित्दै प्रगतिपथमा अगाडि बढेकी उनले दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेस्ट नेशनल ओपन गेम्समा रजत जितेकी छन् । पछि राष्ट्रिय टिममा परेसँगै इण्डोनेसियामा आयोजित हाम्मादाङ च्याम्पियनसीपमा सहभागिता जनाएकी थिइन् ।

सुरुआतमा तेक्वान्दोमा क्योरोगीमै फाइटमा भिडिन् । पछि गुरुहरुको सल्लाहमा पुम्से खेलेको बताइन् । हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध प्रशंसाको एशियन तथा वल्र्ड च्याम्पियनमा भाग लिने लक्ष्य छ । ‘रहरै रहरमा लागियो । गेममा केही गर्न सकिन्छ कि भनी कठोर मिहिनेत गरिराखेकै छु,’ उनी आशावादी बनिन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिलातर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘राम्रो फिल भएको छ । जन्मस्थल स्याङ्जा भए पनि कर्मस्थलो पोखरा हो । आफ्नो गाउँठाउँमा सम्मान पाउनु भनेको ठूलो कुरा हो । गण्डकी प्रदेश भनेको मेरो अभिभावक हो ।’

यो विधामा प्रशंसा सहित तेक्वान्दोकै पार्वती गुरुङ र साइक्लिङकी जमुना थापा मनोनयनमा छन् । उत्कृष्टले २ लाख सहित अवार्ड प्राप्त गर्ने मञ्चका महासचिव एवं प्रचार संयोजक विजय नेपालले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds