बागलुङ । कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ ।
महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । एकातिर कोरोना सङ्क्रमणको जोखिम र भय, अर्कातिर रोपाइँको चटारो । महामारीबाट जोगिएर खेतीपाती लगाउनुको विकल्प किसानसँग छैन ।
किसानलाई खेतबारीमा काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । गलकोट नगरपालिकाले रोपाइँमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन भनेको छ ।
सार्वजनिक सूचना नै जारी गरेर त्यस्तो आग्रह गरिएको र त्यसको अनुगमन पनि हुने नगरपालिकाले जनाएको छ । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । सबैभन्दा पहिले त्यहीँबाट रोपाइँ शुरु हुन्छ । सिञ्चित र दुई बाली फल्ने खेतमा मध्य जेठबाटै रोपाइँ हुने गरेको छ ।
मजुवालगायत फाँट खोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदी बताउनुहुन्छ । त्यहीँमाथि मनसुनले समेत साथ दिएमा रोपाइँ बेलैमा सकिन्छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुन्छ ।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा छ हजारबढी हेक्टरमा धान खेती हुँदै आएको छ । प्रतिहेक्टर तीन मेट्रिक टन धान फल्छ । पछिल्लो समय उत्पादन बढाउन उन्नत र वर्णसङ्कर जातको धान खेतीतर्फ किसान आकर्षित छन् ।
केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ्रे, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुक्खा १,२,३ सहित उन्नत जातको धान खेती हुँदै आएको छ । धानको उब्जनी बढाउन कृषि ज्ञान केन्द्रले बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर