आज ३९ औं विपी स्मृति दिवस

आज ३९ औं विपी स्मृति दिवस

bp

काठमाडौँ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइँदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

२०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गरेका थिए ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुप-यो।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट पनि नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका छन् ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

वि.स. १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ