आज लक्ष्मीपूजा: धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

आज लक्ष्मीपूजा: धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

laxmi-pooja

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदै छ ।

कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।

लक्ष्मी पूजाका लागि आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज बेलुका भैलो खेलिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

लक्ष्मीपूजाका दिनमा साँझ शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै बिहानै गाईको पूजा गरिन्छ तर शास्त्रीय रुपमा भने औँशीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउछन् ।

यसैबीच कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गइ स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइँदैछ । कुकुर तिहार र नरक चतुर्दशी तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन हिजो र नरक चतुर्दशी तेस्रो दिन आज परेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ