पोखरा । पोखरामा ईतिहासकै पहिलोपटक हुन लागेको सहिद स्मारक ए डिभिजन लिग सञ्चालनको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी तीव्र पारिएको जानकारी दिएको हो ।
यो वर्ष लिगका ३ खेल पोखरा रंगशालामा तोकिएको छ । लिगमा सहभागी प्रमुख टोली मनाङ मस्र्याङ्दी क्लबले होम ग्राउण्डको रुपमा पोखराको मैदान गरेपछि पोखरेलीले आफ्नै मैदानमा लिगका खेल हेर्न पाउने भएका हुन् । पोखरेलीको प्रिय टीम मनाङले आफ्नै भूगोललाई होम ग्राउण्ड छानेको हो ।
सार्वजनिक तालिका अनुसार मनाङले पोखरामा पुस ३, पुस १७ र पुस २४ गते खेल्नेछ । पुस ३ गते विभागीय नेपाल पुलिस क्लबसँग पाँचौं चरणको खेल खेल्नेछ । सातौं चरणमा पुस १७ मा मनाङको प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज हुनेछ भने पोखराको मैदानको अन्तिम खेल पुस २४ गते च्यासल युथ क्लबसँग आठौं चरणमा खेल्नेछ ।
घरेलु मैदानमा हुने पहिलो खेलको तयारीका लागि मनाङको टोली बुधबार पोखरा ओर्लिएर पत्रकारसँग भेटघाट गरेको हो । लिग कमिटी निर्देशक सञ्जीव मिश्रले पोखरामा पहिलोपटक हुने ३ खेललाई होम एन्ड अवे अवधारणाको परीक्षणरुपमा लिएको बताए । उनले प्राविधिक रुपमा पोखराको मैदान उपयुक्त रहेको बताउँदै केही आवश्यकीय तयारी भइरहेको पनि उल्लेख गरे । सुरक्षाका हिसाबले पनि सबै तयारी गरिसकिएको उनले बताए । कोभिड महामारीबाट बच्ने सबै उपाय अवलम्वन गर्न नसकिएपनि फिफा र एएफसीको मापदण्ड अनुसार खेलाइने मिश्रले उल्लेख गरे ।
एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले पोखरामा हुने ३ खेललाई सफल बनाउन सबैलाई आग्रह गर्दै यो नयाँ परीक्षणलाई पोखरेलीले सफल बनाइदिनेमा आफू ढुक्क रहेको बताए ।

एन्फाका केन्द्रीय सदस्य एवं मनाङका उपाध्यक्ष विजय घलेले एन्फाको अवधारणअनुसार अघि बढ्दा पोखरालाई छनौटमा राखेको बताउँदै उनले पोखरामा थप स्थापित गर्न यसले सहयोग पुग्ने बताए । उनले भने –लिग इतिहासमै पहिलो पटक लिगका खेलहरु पोखरा हुँदैछन्, हामीले दर्शक अपेक्षा राम्रै गरेका छौं । किनभने पोखरेलीको प्रिय टीम मनाङ नै हो । त्यसैले नै हामीले पोखरालाई होम ग्राउण्ड बनाएको हो । घलेले पोखरामा हुने सबै ३ खेल जितेर शीर्ष स्थानमै रहेर लिग टुंगाउने योजनामा रहेको पनि बताए ।
एन्फा कास्की अध्यक्ष मिलन गुरुङले मनाङको ३ खेल पोखरामा हुने भएपछि यहाँको फुटबलको विकासमा टेवा पुग्ने बताए । त्यसैले यी खेलहरु सफल बताउन आफूहरुले पूर्ण सहयोग गर्ने उनले बताए ।
पोखरा रंगशालमा लिगका खेल हेर्न टिकट काट्नुपर्नेछ । ३ सय र १ सय दरका टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । अहिले पोखरा रंगशालामा पूर्वाधार तयारी काम धमाधम चलिरहेको छ । १ हप्ता अघिदेखि नै एक दर्जन बढी कामदार खटिएका छन् । आगामी फागुन १४ सम्म सञ्चालन हुने लिगमा १४ ए डिभिजन टीम प्रतिस्पर्धामा छन् । तीमध्ये २ टोली रेलिगेसन परेर ‘बि’ डिभिजनमा घटुवा हुने छन् । विजेताले ७५ लाख र उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ