नेपाल संवत् ११४३ सुरु, म्हः पूजा पनि आजै

नेपाल संवत् ११४३ सुरु, म्हः पूजा पनि आजै

Nepal_Sambat

पोखरा । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds