गण्डकीमा अबकाे मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई बनाउन देउवासँग सल्लाह भइसकेको छ: प्रचण्ड

गण्डकीमा अबकाे मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई बनाउन देउवासँग सल्लाह भइसकेको छ: प्रचण्ड

Prachanda Surendra

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउनेबारे प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूले सल्लाह गरिसकेको बताएका छन्।

गोरखाको क्षेत्र नम्बर २ मा आइतबार भएको चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउनेबारे आफू र देउवाबीच सल्लाह भइसकेको बताएका हुन्।

गोरखा २ मा कांग्रेसका पाण्डेको नाम उम्मेदवारका लागि कांग्रेस गोरखाबाट सर्वसम्मत रूपमा सिफारिस भएको थियो। तर उक्त क्षेत्रमा प्रचण्ड उठ्ने सत्ता गठबन्धनभित्र छलफल भएपछि पाण्डे प्रदेश सभा क्षेत्रमा उठ्न सहमत भएका थिए। पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र (ख) मा उम्मेदवार छन्। २०७४ मा तत्कालीन माओवादी र एमालेबीचको वामगठबन्धनका बेला पनि यो प्रदेश सभा क्षेत्र कांग्रेसका प्रकाशचन्द्र दवाडीले जितेका थिए।

प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा भएका ४० भन्दा बढी चुनावी कोणसभालाई सम्बोधन गरेका थिए। ती अधिकांश सभामा प्रचण्डले आफू भावी प्रधानमन्त्री र सँगै रहेका पाण्डेलाई चुनाव जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री हुने कुरा भन्न छुटाएका थिएनन्।

उनीहरूसँगै रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि भावी प्रधानमन्त्रीमा प्रचण्ड र मुख्यमन्त्रीमा पाण्डेको नाम नै लिएर यो क्षेत्रको विकास हुने भन्दै जनतासँग भोट मागेका थिए।

प्रचण्डका लागि गोरखा २ बाबुरामले पनि छाडेका हुन्। २०७४ मा बाबुरामले कांग्रेसँग मिलेर गोरखा २ मा वामगठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराएका थिए। २०७४ मा चुनावमा प्रतिस्पर्धा गरेकाहरू अहिले सत्ता गठबन्धनमार्फत् एकै गठबन्धनमा समेटिएर चुनावी अभियानमा छन्।

प्रचण्डले आफू गोरखा २ मा आउने भनेपछि सुरेन्द्र पाण्डेले सजिलै यो क्षेत्र छाडिदिएको पनि उल्लेख गरेका छन्। ‘सुरेन्द्रजी पहिले त संघमा लड्ने तयारी गरिरहनुभएको थियो। प्रचण्ड आउने भनेपछि त म बोल्ने कुरै भएन, ल छाडिदिएँ मैले भन्नुभयो,’ गोरखा २ को एक चुनावी सभालाई सम्बोधनका क्रममा आइतबार प्रचण्डले भने, ‘अनि शेरबहादुरजी र मैले कुरा गरियो, सुरेन्द्रजी प्रदेशमा जाने हुनुभयो। उहाँलाई मुख्यमन्त्री बनाउने भन्ने सल्लाह भयो। मलाई लाग्छ- उहाँ (सुरेन्द्र पाण्डे) चुनाव जितेपछि मुख्यमन्त्री बन्ने नजिकै हुनुहुन्छ।’

यसपछि प्रचण्डले आफ्नाबारे पनि कुरा राख्दै प्रधानमन्त्री हुन सक्ने कुरा गरेका थिए। ‘त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्ने अवसर पाउने सम्भावना पनि छ। त्यसो भयो भने गोरखा क्षेत्र नम्बर २ बडो भाग्यमानी क्षेत्र हुने भयो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री पनि पाउने मुख्यमन्त्री पनि पाउने भयो भने गोरखाका यी बाटाघाटाका धुलो छन् नि एउटा पनि रहन दिन्नौं।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ