विद्या भट्टराई: जसको साढे दुई वर्षको सक्रियताले फेरि संसदमा खोजियो

विद्या भट्टराई: जसको साढे दुई वर्षको सक्रियताले फेरि संसदमा खोजियो

5 (1)

पोखरा, १ मंसीर । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि राजनीतिमा पुनरागमन गरेकी एमाले नेतृ विद्या भट्टराईको साढे दुई वर्षको कार्यकाल प्रशंसायोग्य रह्यो । उनले २०७६ सालको उपनिर्वाचन जितेपछि जनताको सवालमा अनवरत संसदमा आवाज उठाइरहिन् । शिक्षा, स्वास्थ्यका कुरामात्रै होइन उनले पोखराको कुनाकुनाका समस्या संसदमा उठाइन् । साढे दुई वर्षको कार्यकालमा उनले जनताका समस्या समाधानमा सक्दो पहल गरिन् ।

यही कारण भट्टराईको खोजी अबको चुनावपछि पनि संसदमा भएको छ । नेपाली पत्रकारिता जगतमा कुनै पनि निर्वाचनमा कुनै उम्मेदवारलाई खुलेर समर्थन वा अनुमोदन गर्ने चलन छैन । तर काठमाडौंबाट सञ्चालित बाह्रखरी मिडियाले केही दिन अघि देशभरबाट आसन्न निर्वाचनमा उम्मेदवार बनेका २५ जनालाई अनुमोदन गर्यो । नेपालमा पहिलो पटक थालिएको यो प्रयासमा बाह्रखरीले गरेका अनुमोदनमध्ये कास्की २ मा नेकपा एमालेकी उम्मेदवार बनेकी विद्या भट्टराईको समेत नाम छ ।

विद्यालाई अनुमोदन गर्दै बाह्रखरी मिडियाले बौद्धिक नेतृ र स्पष्ट वक्ता भएको लेखेको छ । बाह्रखरीले लेखेको छ, ‘बौद्धिक नेतृ । संसद्मा जनताका विषयमा धारणा स्पष्टसँग राख्न सक्ने क्षमता । स्वर्गीय पति रविन्द्र अधिकारीकोे राजनीतिक विरासतलाई अझ सशक्त ढंगले अघि बढाउन सक्षम ।’

संसदीय प्रणालीलाई समुन्नत एवं संघीय संसद्लाई प्रभावकारी बनाउन तथा सरकारलाई जिम्मेवार अनि गतिशील बनाउनसमेत सक्षम हुने निष्कर्षसहित विद्यालाई अनुमोदन गरिएको उल्लेख छ ।

२०७५ साल १५ फागुनमा पति तत्कालीन पर्यटन मन्त्री अधिकारीको निधन भएपछि विद्याले राजनीतिमा पुनरागमन गरेकी थिइन् । रवीन्द्रको निधनपछि विद्या राजनीतिमा आएकी भने होइनन् उनी विद्यार्थी कालदेखि नै सक्रिय थिइन् । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए ।

रवीन्द्रसँग विवाह गरेपछि भने विद्या सक्रिय राजनीतिबाट टाढिइन् । प्राध्यापनमा सक्रिय उनले २०७५ साल फागुनको दुःखद घटनापछि पार्टीले राजनीतिमा फर्किन गरेको आग्रहलाई स्वीकारेर अहिले राजनीतिमा छन् । सांसदको काम मुख्यतः नीति नियम निर्माण हुन्छ । यसमा अब्बल देखिएकै कारण विद्या मिडियाले संसदमा देख्न चाहेको नेतृको रुपमा अनुमोदन गरेको छ । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बसेर काम गरेकी थिइन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि सदनमा जनताले देख्न चाहेको नाम हो–विद्या भट्टराई । यसअघि २०७६ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित भट्टराईले सकेजति र आँटेजति काम गरेको कुरा सर्वविदितै छ । उनी एक असल नेतृत्वको रुपमा कास्की २ मा स्थापित भइसकेकी छन् । सदनमा आम नागरिकका समस्यालाई स्पष्ट रुपमा राख्ने, ती समस्या हल नभएसम्म ती मुद्दाको उठान गरिरहने चरित्र भट्टराईको छ ।

भट्टराईको राजनीतिक पृष्ठभूमि निश्कलंकित छ । उनको योग्यता, क्षमता, लगनशीलता र इमान्दारितामाथि प्रश्न उठाउने एउटै पनि तथ्यपरक कारण छैन । यिनै कारण भट्टराई एक असल नेतृको रुपमा यहाँका जनताको मनमा छिन् । निर्वाचन पछि उनले सदनमा उठाउने मुद्दा, उनको भूमिका र उनको तदारुकता अहिले उत्सुकता र प्रतिक्षाको विषय बनेको छ ।

विद्या भट्टराई उदियमान महिला नेतृत्वको नाम हो । विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आएकी भट्टराई पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालिन् । मीठो बोली, सबैसंग घुलमिल हुने बानी र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी समुदायमा उनी लोकप्रिय थिइन् ।

शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनप्रति गम्भीर रूची र अनुशासित छात्राका रूपमा गुरुवर्गका बीचमा पनि प्रिय छात्राका रूपमा सुपरिचित रहेको उनलाई पढाउने शिक्षकहरूको मूल्याङ्कन छ ।

हुने बिरूवाको चिल्लो पात भनेझैं उनको वक्तृत्व कला र नेतृत्व क्षमताको विकास विद्यार्थीकालमा नै भएको मान्न सकिन्छ । आफ्ना विचार र धारणाहरू शालिनतापूर्वक राख्ने, अरूका कुराहरू धैर्यताकासाथ ध्यान दिएर सुन्ने र सामुहिक छलफलबाट मात्र निष्कर्ष निकाल्ने उनको आनीबानीले उतिबेला उनलाई चर्चित विद्यार्थी नेतृको रूपमा स्थापित गरेको थियो । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्वपङ्क्तिमा पुग्न उनलाई यिनै अन्तर्निहित गुणले सघाएका हुन् भन्नै पर्छ ।

स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका रुपान्तरित भयो । विद्यार्थी नेताका रुपमा सक्रिय रहेको समयमाा त्यो बेलाका अर्का बहुचर्चित विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग उनको दाम्पत्य जीवन गाँसियो ।

विवाह पश्चात् उनले एकातिर सफल गृहिणीको रुपमा रवीन्द्रजीको पूर्णकालीन राजनीतिलाई वैचारिक परामर्शका आधारमा समेत समर्पित भएर सघाइन् भने अर्कातिर मेधावि छात्राको हैसियतमा उनले प्राप्त गरेको उच्च शिक्षाको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरी रत्नराज्य क्याम्पसमा अध्यापन कार्यमा समर्पित रुपमा लागिन् ।

अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै गैरहेकाले उनी प्राज्ञिक क्षमतायुक्त बौद्धिक व्यक्तित्वका रुपमा सुपरिचित हुन थालेको देखिन्छ । नियति, समय र परिस्थितिले अहिले उनको भूमिका बदलिन पुगेको छ । सहधर्मिणीको रुपमा उनले रवीन्द्रलाई उच्च राजनीतिक जिम्मेवारीमा पुग्न सघाउँदै आएपनि कालान्तरमा उनी नै राजनीतिक उत्तराधिकार बनेकी छन् ।

उनी उच्चअध्ययन, अनुसन्धानात्मक कार्य र प्राध्यापनलाई नै निरन्तरता दिने मानसिकतामा रहेको भए पनि पार्टीले गरेको विश्वास र दिएको अवसरले गर्दा शोकलाई शक्तिमा बदलेर कास्की २ बाट निर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् ।

संसद प्रवेशको अल्पकालमा नै संसदभित्र आफ्नो बौद्धिक राजनीतिक छवि निर्माण गर्न सफल देखिइन् । रवीन्द्र अधिकारीको विरासत धान्न मात्र होइन, आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्न पनि सक्षम देखिएकी विद्याकाे लागि अब कास्की २ का मतदाताको अनुमाेदन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ