इन्द्र–हुमा वाङ्मय सम्मान डा. भण्डारीलाई

इन्द्र–हुमा वाङ्मय सम्मान डा. भण्डारीलाई

Indra huma news photos

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान साहित्यकार डा. पुष्पा केसी भण्डारीलाई अर्पण गरिने भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले सिफारिस गरेका तीन प्रतिभा सूचीबाट भण्डारीलाई सम्मान अर्पण गर्ने समाजको शुक्रवार सम्पन्न बैठकले निर्णय गरेको हो ।

प्रतिभा छनौट समितिको सदस्यमा नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला रहेका थिए । यस्तै पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी रहेका थिए ।

भण्डारीलाई १० हजार एक सय नगद राशि दोसल्लासहित सम्मान अर्पण गर्न लागिएको संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी दिए ।

आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गर्दै आएको छ । अक्षयकोशको राशि हाल १ लाख ६१ हजार एक सय ११ रहेको छ ।

लायन्स क्लब अफ पोखरा अर्पण, ओम् शिवशक्ति कल्याणी केन्द्र पोखरा र क्षत्री महिला समाज नेपालकी संस्थापक अध्यक्ष डा. भण्डारी साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील प्रतिभा हुन् ।

नासु तोरणबहादुर खत्री र गौरी केसीको कोखबाट पोखरा १९ लामाचौरमा जन्मेकी भण्डारीका ‘केही सुसेली ः केही सुस्केरा’ कवितासङ्ग्रह, ‘संगम’ र ‘जिन्दगीको दोसाँधमा’ दुई मुक्तकसङ्ग्रह प्रकाशित छन् ।

‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका : लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गरेकी भण्डारी सिर्जना साहित्य सदन घाचोक र हेमजा साहित्य प्रतिष्ठानकी संरक्षकसमेत रहेकी छन् ।

उक्त पुरस्कार नाट्यसम्राट बालकृष्ण समको १२१ औं सम जयन्ती समारोहका सन्दर्भमा माघ २४ गते अर्पण गरिने निधो भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ