केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान

केसीका अव्यक्त पीडा र दोषी नजर लोकार्पण, बल्लभलाई सम्मान

Book News (1)

पोखरा । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको शुक्रवार एक समारोह बीच पोखरामा लोकार्पण गरियो ।

वरिष्ठ संगीतकार शक्ति बल्लभ, वरिष्ठ साहित्यकार सरुभक्त र वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि वरिष्ठ संगीतकार शक्ति बल्लभले केसीका सिर्जनासँग जोडिएपछि आफूलाई धेरै पहिलाल उनीसँग जोडिनुपर्ने अनुभूति भएको बताए । उनले केसीका सिर्जना आफूले फेला पारेपछि संगीतका माध्यमबाटै जवाफ दिने गरेको बताए ।

पोखरा आगमन सन्दर्भमा बोल्दै बल्लभले कार्यक्रमका हिसाबले पोखरा आगमन यो तेस्रो भएको बताए । पहिलो पटक म्यूजिक नेपालले पोखरामा आयोजना गरेको कार्यक्रममा अली मियाँ र ईश्वर बल्लभसँगै रहेको स्मरण गर्दै पोखरालाई साहित्यको राजधानीका रूपमा चित्रण गरे । अनेसासको सम्मानप्रति आभार व्यक्त गर्दै उनले आफू पूर्वको मान्छे भएर पनि प्रिय भूमि पोखरा रहेको बताए ।

सोही समारोहबीच अनेसास गण्डकी समितिकातर्फबाट संगीतकार बल्लभलाई नेपाली सुगम संगीतका क्षेत्रमा पाँच दशक साधना गरी पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । सरुभक्त, हरिदेवी र कृष्णप्रसाद बास्तोलाले संयुक्तरूपमा सम्मान अर्पण गरेका थिए ।

अतिथि सरुभक्तले केसीलाई लामो समयदेखि नजिकैबाट चिनेको बताउँदै समकालीन नेपाली समाजको चित्रण नै देवेन्द्रका सिर्जना र मुक्तकका विषयवस्तु भएको बताए ।

हरिदेवी कोइरालाले केसीलाई व्यस्त जीवनको परिपाठ मिलाउँदै राष्ट्रसेवकसँगै साहित्यसेवकका रूपमा अगाडि बढेको सफल र असल प्रतिभाकारूपमा चिनाइन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आफ्ना अनुभव र अनुभूतिलाई लिपिबद्ध गराएर राज्यमा सुव्यवस्था कायम गर्न लेखन अनिवार्य भएको बताए ।

कृतिको समीक्षा गर्दै घनेन्द्र ओझाले छ सातवर्षदेखि सिर्जनाका माध्यमबाट देवुलाई चिन्दै आएको र उनको साहित्य लेखनको पहिलो कडी इमान भएको बताए । कृति सम्पादनका सम्बन्धमा बताउँदै उनले अव्यक्त पीडा भित्र केसीका हजारौंमध्येका उत्कृष्ट मुक्तक भएको बताए । स्रष्टाको परिचयसमेत दिँदै ओझाले कास्कीको भलाममा जन्मेका केसीका यस अघि यसरी पोखियो मन, परेलीभित्रै छु कवितासङ्ग्रह, मनको पहिरो, इमानको पहाड मुक्तकसङ्ग्रह र यो जुनीमा यस्तै भयो गीतिएल्बम प्रकाशित गरिसकेका सिर्जनशील स्रष्टा भएको धारणा व्यक्त गरे ।

कृतिका स्रष्टा केसीले सधैं आफूले काठमाडौंमा मात्र कार्यक्रम गर्ने भनेर आफ्ना जन्मभूमिवासीको स्नेहले यस पटक पोखरामा कार्यक्रम आयोजना गरेको बताए । आफ्ना जागिरे तथा व्यक्तिगत जीवनका विविध अध्याय र आयामको स्मरण गर्दै समय–समय भावुकसमेत भएका केसीले दाजुभाइको बाल्यकालीन स्नेहसमेत स्मरण गरे । साथै, अनेसास र हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषले यो बन्दोबस्तो मिलाएकोमा आभार पनि व्यक्त गरे ।

कार्यक्रममा रामभक्त जोजिजु, कर्ण दास र नवीन कार्कीले दोषी नजर भित्रका गीत गायन, सावित्री गिरी र वसन्त विनोदले कृतिभित्रका मुक्तकवाचन गरेका थिए ।

समाजसेवी रमेशबहादुर भट्टराई, साइभक्त मोहन केसीलगायतले देवेन्द्रका विविध व्यक्तित्व र आयामका बारेमा आयामबारे चर्चा गरे ।

अध्यक्षको आसनबाट बोल्दै कृष्ण बास्तोलाले हरिदेवी कोइराला एकल सांगीतिका साँझबाट स्थापना भएको संस्थाले स्रष्टा सम्मान, कृति लोकार्पण जस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए । अनेसास उपाध्यक्ष दुर्गा न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिव असफल गौतमले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ