नेपाल टेलिकमको ‘नमस्ते वाई–फाई’ सेवा पोखरा कार्यालयबाट वितरण सुरु

नेपाल टेलिकमको ‘नमस्ते वाई–फाई’ सेवा पोखरा कार्यालयबाट वितरण सुरु

ntc wifi

फाइबर इन्टरनेट सेवा नपुगेका ठाउँमा गुणस्तरीय वायरलेस इन्टरनेट सेवा दिने उद्देश्यसहित नेपाल टेलिकमले सुरु गरेको ‘नमस्ते वाई–फाई’ सेवा पोखरा कार्यालयबाट पनि वितरण कार्य सुरु भएको छ ।

पोखरा कार्यलय प्रमुख उप प्रबन्धक ई. राकेश चौधरीले प्रथम ग्राहकत्रय कास्कीको मादी ९ स्थित प्रगति सदन आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रमणि अधिकारी, पोखरा २४ कास्कीकोटका नवराज सुवेदी र मादी ९ स्थित सरस्वती कुञ्ज आधारभुत विद्यालयका प्रधानाध्यापक उत्तर बहादुर गुरूङलाई राउटर हस्तान्तरण गरी शुभारम्भ गरे ।

यो इन्टरनेट जडान गर्न प्रयोगकर्ताको रहेको ठाउँमा फोरजी नेटवर्क चल्ने हुनुपर्छ । त्यसपछि इन्टरनेटको तार नजोडेरै वाई–फाई सेवा लिन सकिन्छ ।

टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराउने राउटर खरिद गरी ग्राहकले यो इन्टरनेट प्रयोग गर्न सक्नेछन् । राउटरमा सिम राखेपछि त्यसलाई पावरमा जोड्नुपर्छ, जसमा एक घण्टा बढीको ब्याट्री ब्याकअप पनि छ ।

फोरजी इन्टरनेट सपोर्ट गर्ने नेपाल टेलिकमको नमस्ते वाई–फाईमा डुअल ब्यान्ड भएको राउटर पाउन सकिन्छ, जसले गर्दा प्रयोगकर्ताले राम्रै स्पिडको इन्टरनेट कनेक्सन अनुभव गर्न पाउने कम्पनीले बताएको छ । कम्पनीले ‘नमस्ते वाई–फाई’मा अनलिमिटेड डेटा र डेटा विथ भ्वाइस प्याकेजहरू उपलब्ध गराएको छ ।

अनलिमिटेड डेटा वन्ली

‘अनलिमिटेड डेटा वन्ली प्लान’ अन्तर्गत अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्लान रहेका छन् । अनलिमिटेड बेसिक प्लान प्रयाेग गर्न चाहने ग्राहकका लागि राउटरसहितक छ महिनाकाे शुल्क पाँच हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने वार्षिक प्याकेज खरिद गर्न १० हजार ४९९ रुपैयाँ लाग्छ ।

यति रकम खर्च गरिसकेपछि दैनिक ५ एमबीपीएस स्पिडका दरले १० जीबीसम्मकाे इन्टरनेट प्रयोग गर्न सकिन्छ । त्यसपछि भने १.५ एमबीपीएस स्पिडका दरले इन्टरनेट चल्नेछ । ‘अनलिमिटेड बेसिक’ प्लान छ महिनाका लागि नवीकरण गर्न चार हजार ९९९ रुपैयाँ र वार्षिक प्याकेजका लागि नौ हजार ४९९ रुपैयाँ तिर्नुपर्छ ।

यसैगरी ‘अनलिमिटेड प्रिमियम’ प्लान अन्तर्गत आठ हजार ९९९ रुपैयाँ तिरेर छ महिनाको प्याकेज सहितको राउटर खरिद गर्न सकिनेछ । त्यस्तै, अनलिमिटेड प्रिमियम अन्तर्गत एक वर्षको प्याकेज खरिद गर्न १६ हजार ४९९ रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ । छ महिनाका लागि यो सेवा नवीकरण गर्न सात हजार ९९९ रुपैयाँ लाग्नेछ भने एक वर्षका लागि नवीकरण गर्न १५ हजार ४९९ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

यति खर्च गरेपछि १० एमबीपीएस गतिमा दैनिक १५ जीबीसम्म इन्टरनेट प्रयोग गर्न सकिन्छ । १५ जीबी सकिएपछि बाँकी इन्टरनेट २ एमबीपीएसकाे स्पिडमा चल्नेछ ।

अनलिमिटेड डेटा विथ भ्वाइस

त्यस्तै, ‘अनलिमिटेड डेटा विथ भ्वाइस’ प्लान अन्तर्गत प्रयोगकर्ताले इन्टरनेटका साथै भ्वाइस प्लान पनि प्रयोग गर्न पाउनेछन् । राउटरमा भएको पोर्टमा टेलिफोनको केबल राखेर भ्वाइस प्लान सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अनलिमिटेड डेटा विथ भ्वाइस प्लान अन्तर्गत पनि दुई ओटा प्लान रहेका छन् । एउटा ‘अनलिमिटेड बेसिक विथ भ्वाइस’ र अनलिमिटेड प्रिमियम विथ भ्वाइस रहेका छन् । यी दुवै प्याकेज खरिद गरेपछि अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने भएपनि भ्वाइसमा भने सीमितता छ ।

‘अनलिमिटेड बेसिक विथ भ्वाइस’ प्लानका लागि राउटरसहित ग्राहकले सात हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् । त्यस्तै एक वर्षको प्याकेज खरिद गर्न १४ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो सेवा छ महिनाका लागि नवीकरण गर्न छ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १३ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ । यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १० जीबीसम्म ५ एमबीपीएस स्पिडका दरले इन्टरनेट प्रयोग गर्न सकनेछन् । र, त्यसपछि १.५ एमबीपीएसको दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ भने नमस्ते बाहेकका सिममा १०० मिनेट कुराकानी गर्न सकिनेछ । साथै ‘अनलिमिटेड प्रिमियम विथ भ्वाइस’ प्लान भएको राउटर खरिद गर्न प्रयोगकर्ताले सात हजार १० हजार ४९९ रुपैयाँ तिरेर छ महिनासम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै एक वर्षको प्याकेजसहित उक्त राउटर खरिद गर्न १९ हजार ४९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो सेवा छ महिनाका लागि नवीकरण गर्न नौ हजार ४९९ रुपैयाँ लाग्नेछ भने वार्षिक १८ हजार ४९९ रुपैयाँ तिरेर सेवा नवीकरण गर्न सकिन्छ ।

यो प्याकेजसहितको राउटर खरिद गर्दा प्रयोगकर्ताले दैनिक १५ जीबीसम्म ५ एमबीपीएसका दरले इन्टरनेट प्रयोग गर्न सक्नेछन् । र, त्यसपछि २ एमबीपीएस स्पिडमा इन्टरनेट प्रयोग गर्न सकिन्छ । भ्वाइसमा भने नेपाल टेलिकमभित्र मासिक ४०० मिनेट कल गर्न सकिनेछ । त्यस्तै अफ- नेट १०० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

नेपाल टेलिकमबाट हाल उपलब्ध अफरहरू

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ