लमजुङमा ड्यूटीमा रहेका डाक्टरलाई हातपात तथा कुटपिट गर्ने वडा अध्यक्ष ऋषिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका थिए ।
वडा अध्यक्ष बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेका हुन् । ‘वडाध्यक्षले आमालाई उपचारका लागि अस्पताल ल्याएका रहेछन्, उपचारका क्रममा विवाद हुँदा उनले डाक्टरलाई मोबाइलले समेत प्रहार गरेछन्’ – सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईंले भने, ‘मापसे पनि गरेको र मुक्का पनि प्रहार भएको डाक्टरहरुले बताएका छन् ।’
वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको अस्पताल प्रशासनले जनाएको छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गरेको बताइन्छ । वडाध्यक्ष बस्नेतले भने बिरामी भर्ना लिन नमानेर अन्तै लैजानु भनेपछि विवाद हुँदा आफूले चर्को आवाज मात्रै गरेको बताएका छन् ।
घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले अपराह्न ४ बजेमात्र प्रहरीमा जाहेरी दिए । उजुरी नपरेपनि सोमबार दिनभर वडाध्यक्ष बस्नेत भने प्रहरी नियन्त्रणमै थिए ।
लमजुङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विशाल तिवारीले आमालाई भर्ना गर्ने क्रममा वार्डको नर्सिङ स्टेसनमा वडाध्यक्षले डाक्टरमाथि हातपात गर्दै नर्सलगायत कर्मचारीमाथि अपशब्द बोलेको बुझिएको बताए । ‘डा. सन्दीप ड्युटीमा हुनुहुन्थ्यो । वडाध्यक्षले आमाको भर्नामा मञ्जुरीनामा नगर्ने भनेपछि विवाद भएको बुझिन्छ । मञ्जुरीनामा गर्न अनुरोध गर्दा नमानेको र उल्टै डाक्टरमाथि हातपात गर्नुभएछ‚’ उनले भने ।
डा. तिवारीका अनुसार बिरामी भर्ना गर्दा बिरामी वा आफन्तले मञ्जुरीनामा गर्नुपर्छ । राती साढे १० बजेपछि उक्त घटना भएको हो । पीडित डा. अधिकारीसहित अन्य ९ जनाले प्रहरीमा जाहेरी दिएको मेसु तिवारीले बताए । लमजुङको बेंसीसहर-१ उदिपुर घर भएका डा. अधिकारी लमजुङ अस्पताल आएको तीन महिना मात्रै भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो घटना कोही कसैबाट पनि हुन नहुने बताए ।
चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । बस्नेतविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?