कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ ।
पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि मीनबहादुर विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् । आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि–परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी हुन् ।
कवि विष्टको लेखनीमा प्रायः देश बोलेको हुन्छ ।
‘शब्दहरुको गोलाबारी बर्साए जस्तो गरी
घरीघरी भनिएको छ
यो देश नयाँ युगमा प्रवेश गरेको छ
र म खोजिरहेछु
नयाँ युगमा प्रवेश गरेको त्यो देश ।’
‘कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरंग ल्याउँछ, तिनै उर्लिएका भावहरुले उनलाई कविता कोर्न बाध्य बनाउँछन्,’ शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरुभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।’
विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायत अनेक कालजयी रचनाहरु समाविष्ट छन् ।
उनले लेखेका छन्:
‘तिनीहरुले–
हाम्रा देख्ने आँखा खोसे
सुन्ने कान खोसे
सोच्ने मस्तिष्क खोसे
त्यसको बदला
एउटा टोपी
एउटा दौरा
र एउटा सुरूवाल दिंदै भने—
अब तिमीहरु नेपाली नागरिक हौ ।’
विष्टका थुप्रै कविताहरु देश–चिन्तामा केन्द्रित भएका देखिन्छन् । तिनले आम मानिसका समस्याहरु झल्काएका हुन्छन् । समाजका विसंगतिहरुमाथि धावा बोलेको पाइन्छन् । गाउँहरु समेटिएका भेटिन्छन् । अनि जनतालाई बारम्बार झक्झक्याउन खोजेका हुन्छन् । सर्वत्र बेथिती फैलिंदा पनि कोही कतै नबोलिरहेको देख्दा विष्टको कवि–मनले यसरी कटाक्ष पोखोरहेको हुन्छ:
‘भोक, रोग र पीडाका धेरै पुराना खटिराहरु पालेर
भजन सुनिरहेका जनता
बस्, भजनहरुको भोजन गर
र भजनहरुको दोसल्ला ओढेर चुपचाप निदाऊ !’
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु