पोखरा । गण्डकी प्रदेशका नेकपा एमालेका सांसदहरुले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।
२ लाख ७९ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय भएको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए। उनले भने – ‘भूकम्पपीडितको उद्धार, राहत, पुनर्स्थापना तथा घाइतेको उपचारका लागि एक हप्ता बराबरको पारिश्रमिक दिने निर्णय गरेका छौँ।’
गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन्। विना कुमारी थापा उपसभामुख भएकाले उनलाई भने दलको यो निर्णय लागु हुने छैन । उपसभामुखले आफ्नो इच्छाले निर्णय गर्न सक्ने एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए। सांसदले बैठक भत्ता र अन्य सुविधा बाहेक ५२ हजार २ सय मासिक पारिश्रमिक पाउँछन् ।
नेता अधिकारीले एमालेले सुरुवात गरेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु पार्टीले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘सहमतिमा ७ दिनभन्दा अरु थपेर जाने कुरा भयो भने पनि हामी तयार छौँ’, उनको भनाइ थियो।
यस्तै, संसदीय दलको बैठकले भूकम्प पीडितको लागि विशेष सहयोग गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
विपद्को घडिमा भूकम्प पीडितको उद्धार, राहात, पुनस्थापना तथा घाइतेको उपचारमा कुनै पनि कमि हुन नदिनका लागि दलको बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित हुन्नः अधिकारी

एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रभावित क्षेत्रमा भिआइपीको भीड लाग्नु उचित नभएको बताए । नेता अधिकारीले रेस्क्यु गर्ने समयमा नेता, कार्यकर्ता जानु गलत रहेको बताए ।
‘प्रधानमन्त्री जाने, गृहमन्त्री जाने, सांसदहरु जाने। कुनै तालिमप्राप्त व्यक्ति छैनन्। उनीहरुका लागि सिडिओ र सुरक्षाकर्मीले स्वागत गराउने, भीडभडका गराउने काम कुनै हालतमा पनि ठीक होइन’ – गण्डकीका पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘रेस्क्युका बेला उद्धारकर्ता नै पहिलो हो। र त्यसपछि पुनर्स्थापना गर्ने बेलामा मात्रै होमवर्क गर्नुपर्छ।’
आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पनि भूकम्पपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार नै गण्डकीबाट विशेषज्ञसहित ७ जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह