नेपाली हस्तकलालाई विश्वमा चिनाउँदै ‘आकाश’

सफलताको आकाश चुम्दै आकाश

नेपाली हस्तकलालाई विश्वमा चिनाउँदै ‘आकाश’

जसले हार र असफलतालाई मेहनत, धैर्यता र निरन्तरताले जिते

Akash Banjara

‘जीवनमा काम गर्दै जाँदा सधैँ आफूले सोचे जस्तो नहुने रहेछ, अनेकौँ हार व्यहोर्नुपर्छ । तर, त्यो हारलाई कमजोरी हैन, शक्तिको रुपमा लिएर आफ्नो कामप्रति ईमान्दार अनि लगनशील भएर गरिराख्नुपर्छ । अन्ततः सफलता प्राप्त भएरै छाड्छ ।’ – आकाश बन्जारा जिन्दगीका आरोहअवरोह छिचोलेपछि भोगेका अनुभव यसरी पोख्दै अरूलाई प्रेरित गर्छन् ।

गोरखाको आरुघाट गाउँपालिका स्थित विकट गाउँमा जन्मिएका आकाश अहिले विश्व बजारमा सफल हस्तकला व्यवसायीका रूपमा नामी छन् । हाल हङकङमा बसेर नेपाली हस्तकलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आएका आकाशले जीवनमा थुप्रै असफलता भोगे । तर, कहिल्यै पछि हटेनन् ।

‘पैसा कमाएर केही व्यवसाय गर्नुपर्छ भन्ने थियो । गाउँका दाइहरु बेल्जिएम पुगेर टन्नै पैसा कमाईरहेको सुनेँ । २२ बर्षको थिएँ, सन् २००८ मा म पनि घरमा ऋण लिएर भिजिट भिसामा बेल्जिएम पुगेँ’, उनी सम्झन्छन्, ‘भिजिटमा गएर काम गर्दा इलिगल हुने, समायो भने कारवाही भोग्नुपर्ने । त्यसपछि त्यहाँ केहि महिना बसेर नेपाल नै फर्किएँ ।’

बेल्जिएम पुगेर उतै टन्न पैसा कमाउने अनि नेपाल फर्किएर कुनै व्यवसाय गर्ने सोचले ऋण खोजेको पैसा एजेण्टलाई बुझाएर परदेशी बनेका थिए आकाश । तर, सोचे जस्तो नभएपछि नेपाल फर्किएर फेरि दुबई हानिए । त्यहाँ पनि भनेजस्तो काम भएन ।

‘अनि, फेरि नेपाल आएर मलेसिया पुगेँ । पाँच/सात महिना बसेपछि बिरामी भएर काम गर्न नसक्ने भएपछि नेपाल फर्किन बाध्य भएँ’, उनी भन्छन् ।

पैसा कमाउने सोचले तीन वटा देश पुग्दासम्म उनको ऋण २० लाख कटिसकेको थियो । त्यतिबेला आकाशलाई लाग्थ्यो, ‘अब जीवनमा केही गर्न सकिँदैन ।’ ‘ऋण बढिरहेको छ, त्यो सबै तिर्न घरखेत सबै बेच्नुपर्ने थियो । घरमा ऋण दिनेहरु माग्न आइराख्ने, आफ्नो कारण घरमा पनि चिन्ता बढ्न थाल्यो । कहिलेकाँही नकfरात्मक सोचहरु पनि आउFथ्यो । तर, म सम्हालिन्थेँ’, उनी सम्झन्छन् ।

अनि, सुरु भयो हस्तकला व्यवसाय

पटक पटकको असफलता, घरको ऋणले आकाशलाई चिन्ता बढ्न थाल्यो । त्यसपछि उनले यसबाट मुक्त हुने उपाय खोज्न थाले । नेपाली हस्तकलाको मार्केट राम्रो छ भन्ने सुनेका उनले यसको सम्भावना, समस्या र चुनौतिका बिषयमा राम्रो सँग बुझे । त्यसका लागि आवश्यक सीपमूलक तालिम लिए । अनि, एउटा सहकारीबाट ७० हजार ऋण लिएर ४ वटा सिलाई मेसिन किनेर काठमाण्डौँको मनमैजुमा हस्तकला उद्योग सुरु गरे ।

उनी भन्छन्, ‘मलेसियाबाट पनि फर्किएपछि मसँग अब फेरि विदेश जाने या देशमै केही गर्ने भन्ने अप्सन थियो । तर, मलाई विदेश फापेन अब देशमै केही गर्छु भनेर हस्तकला उद्योग सुरु गरेँ ।’

उनले सुरुमा बौद्ध धर्मालम्वीहरुले गुम्वामा प्रयोग गर्ने कपडाका सामानहरु, थान्का बनाउन थाले । उनको व्यवसायलाई साथ दिन उनका आमाबुबा पनि काठमाण्डौँ नै आए । छोराको योजनामा बाबुआमाले होष्टेमा हैसे गर्न थाले । त्यसपछि भने आकाशलाई पछाडि फर्किएर हेर्नु परेको छैन ।

‘थुप्रै दुख, कष्ट र संघर्ष गरेँ । असफलता नै असफतापछि ऋण तिर्न ऋण नै लिएर सुरु गरेको व्यवसाय आज विश्व बजारसम्म पु¥याउन सकेको छु । एक हिसाबले भन्दा नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन पाएको छु, खुसी लाग्छ’, उनी भन्छन् ।

‘नेपालमा व्यवसाय गर्नेका लागि थुप्रै सम्भावनाहरु छन् । यहाँ जे गरेपनि पैसै पैसा छ । तर, नेपालीहरुलाई आजको आजै रिजल्ट चाहिन्छ । सुरु गर्ने बित्तिकै सफलता चाहिन्छ । धैर्यता देखिन्न । अनि विदेश जाने, देशमै केही गरेपनि अप एण्ड डाउन हुँदा बीचमै काम छाड्ने र डिप्रेशनमा जाने गरेको देख्छु । व्यवसायमा छोटो समयको हेर्नु हुँदैन, निरन्तरता चाहिन्छ । त्यसो भयो भने सफल भइन्छ ।’

आकाशको अहिले व्यापार व्यवसाय राम्रो छ । करिब डेढ दशकको निरन्तर यात्रामा उनली सन्तुष्टि पाएका छन् । उनको यो व्यवसायमा अहिले सम्पूर्ण परिवारको साथ छ । ‘मेरो थुप्रै असफलता पछि पनि मलाई विश्वास गरेर मेरो सबै परिवारले साथ दिनुभयो । सायद, त्यसैले आज म यो ठाउँमा छु’, उनी भन्छन् ।

हिमालयन क्राफ्ट नेपाल, आकाश ह्याण्डीक्राफ्ट, हिमालयज् क्राफ्ट नामक कम्पनी खोलेर उनले आफ्नो हस्तकला व्यवसाय अन्तर्राष्ट्रिय बजारमा चलाइरहेका छन् । मुख्यरुपमा उनले नेपालमा उत्पादित थान्का, मूर्ति, हस्तकला, काठबाट बनेका कलाहरू तथा अन्य ज्वेलरीका सामानहरु अन्तर्राष्ट्रिय बजार पुर्‍याउँदै आएका छन् ।

ऋण लिएर काठमाण्डौँको मनमैजुबाट सुरु भएको उनको व्यवसाय अहिले ताइवान, हङकङ, चीन, भारत, थाइल्याण्ड लगायतका देशमा पुर्‍याइसकेका छन् । विभिन्न देशमा उनको हस्तकला सम्बन्धी ८ वटा सोरुम छन्, मासिक करोडौँको व्यापार छ । जहाँबाट उनले नेपाली उत्पादित सामानको बिक्री गर्छन् । उनीबाटै सामान किनेर पसल गर्नेहरु हजारौँ छन् ।

‘अहिले त हस्तकलाको नेपाली सामान भनेपछि विदेशीहरु उत्साहित हुँदै किन्छन् । विदेशी मार्केटको माग अनुसार नेपाली सामान पुर्‍याउन नै सकेका छैनौँ’, उनी भन्छन् ।

नेपाल र विदेशमा गरेर आकाशले अहिले एक सय ५० जना भन्दा बढीलाई रोजगारी दिएका छन् । उनी आफ्नोमा काम गर्नेहरूलाई पनि आफैले व्यवसाय गर्नुपर्छ भन्दै उकास्छन् । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङको अध्यक्ष समेत भइसकेका आकाशले युवाहरुलाई उद्यमशीलता विकासमा लाग्न प्रेरित गर्छन् । हङकङमा पनि युवा उद्यमीहरुलाई एकीकृत गरेर आकाशले सामूहिक रूपमा उद्यमशीलता विकासमा काम गर्ने र लगानी बढाउने काम गर्दै आइरहेका छन् ।

उनी भन्छन्, ‘जीवनमा काम गर्न छाड्नु हुँदैन । आफूले गर्ने कामको सम्भावना मात्रै हेरेर हुँदैन, त्यसको समस्या र चुनौती पनि हेर्नुपर्छ । काम गर्दै जाँदा हुने असफलताबाट हार मान्नु हुन्न, ढिलोचाँडो सफल भइन्छ ।’ आकाशको नजरमा व्यवसाय गर्न चाहनेहरूका लागि नेपालमा थुप्रै सम्भावनाहरु छन् । तर, पछिल्लो समय नेपाली युवाहरु देशको सम्भावना पहिचान गर्न नसकेर विदेश गएको देख्दा दुःख लाग्ने उनी बताउँछन् । देशमै केही गरिरहेकाहरुमा पनि डिप्रेशन भएको देख्दा उनलाई अचम्म लाग्छ ।

‘नेपालमा व्यवसाय गर्नेका लागि थुप्रै सम्भावनाहरु छन् । यहाँ जे गरेपनि पैसै पैसा छ । तर, नेपालीहरुलाई आजको आजै रिजल्ट चाहिन्छ । सुरु गर्ने बित्तिकै सफलता चाहिन्छ । धैर्यता देखिन्न । अनि विदेश जाने, देशमै केही गरेपनि अप एण्ड डाउन हुँदा बीचमै काम छाड्ने र डिप्रेशनमा जाने गरेको देख्छु’, उनी भन्छन्, ‘व्यवसायमा छोटो समयको हेर्नु हुँदैन, निरन्तरता चाहिन्छ । त्यसो भयो भने सफल भइन्छ ।’

सबैले आफ्नो असफलतालाई स्वीकार्दै गल्ती कमिकमजोरी सुधार्दै काममा निरन्तरता दिनुपर्ने उनको तर्क छ । ‘मैले पनि पहिले राम्रोसँग नसोच्दा विदेश गएँ, थुप्रै पीडा भोगेर आएँ । तर, जब सोचेर, सम्झिएर निरन्तर व्यवसाय गर्न थालेँ सफल हुँदै गएँ’, उनी भन्छन् ।

चर्चित योगा तथा साउण्ड हिलिङ ट्रेनर

आकाश अहिले सफल व्यवसायी मात्रै हैनन्, योगा तथा साउण्ड हिलिङ ट्रेनर पनि हुन् । उनी यस क्षेत्रमा पनि एसियन मुलुकमै चर्चित छन् । उनीबाट योगा तथा साउण्ड हिलिङको ट्रेनिङ लिन चाहनेहरुको लाइन नै लाग्ने गर्छ । बिशेषगरी पश्चिमेलीसहित विश्वबजारमा अहिले मेडिटेशन तथा उपचारका लागि सिंगिङ बउल अत्यावश्यक बनिरहेको छ । आकाश आफैले नेपालमा सिंगिङ बउलको उत्पादन गरेर त्यसलाई विश्व बजारमा पठाइरहेका छन् ।

‘योगा तथा साउण्ड हिलिङ डिप्रेशन मुक्त गर्नका लागि एकदमै उपयोगी भइरहेको छ । हिलिङ पद्धति नेपालको हिमालयबाटै शुरु भएको हो । सिंगिङ बउल उत्पादन अहिले मेरो कम्पनीबाट नै विश्व बजारमा पुगिरहेको छ । यस मार्फत् पनि विश्वमा नेपाललाई चिनाउने अवसर मिलेको छ’, उनी भन्छन् ।

व्यवसायसँगै उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल ग्लोवल गोरखा समाजको बरिष्ठ उपाध्यक्ष समेत रहेका आकाशले नेपालमा थुप्रै सामाजिक गरिरहन्छन् ।

भूकम्प जाँदा होस् या कोभिडको समयमा देश दुख्दा उनले मलमपट्टी लगाउन सक्दो सहयोग गरिरहेका छन् । उनले मातृविहीन दमौलीकी ९ बर्षिया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठ, सन्जिता पोखरेललाई कलेजस्तरसम्म पढाउने जिम्मा लिएका छन् । नेपालका मानवसेवा आश्रम, बालआश्रम, बृद्धाश्रम, चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइरहेकाहरुलाई निरन्तर आर्थिक सहयोग गरिरहेका छन् । गोरखा र चितवनका थुप्रै विद्यालयमा उनले अक्षयकोष स्थापना गरेर गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गरिहरहेका छन् ।

उनी भन्छन्, ‘मैले दुख भोगेको छु, पीडा भोगेको छु । थुप्रै संघर्ष गरेर आएको छु । त्यसैले देश र देशमा रहेका तमाम समस्या मेरै हुन् भन्ने लाग्छ । तसर्थ आफ्नो ठाउँबाट सकेको सहयोग गर्छु, यसले खुसी मिल्छ । आत्मसन्तुष्टि मिल्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ