गोलाङ हत्या प्रकरणः कैद मुक्त भएर घर फर्केकै रात भाउजूको हत्या

साँझ रक्सी, भात खाएर राति मारिदिए

गोलाङ हत्या प्रकरणः कैद मुक्त भएर घर फर्केकै रात भाउजूको हत्या

भाञ्जी बुहारीलाई घाँटीमा खुर्पा हानेपछि २० महिना कैद सजाय भोगेका थिए च्यामेले

golang murd (2)
  • १३ लाख पैसा दिन्छु भनेर २ जनाले भनेपछि हत्या गरेको भन्दै छिमेकी पनि मुछिदिए

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं ६, गोलाङमा ६२ वर्षीया मनकुमारी सर्किनीको हत्या उनकै देवर नाता पर्ने च्यामे भन्ने शिव बहादुर नेपालीले गरेको खुलेको छ । उसले अरु दुई जनालाई पनि झोसेका छन् । तर, पुष्टि हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हत्याको जिम्मेवारी लिएको जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले गण्डकन्यूजलाई जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको र अन्तिम चरणमा पुगेकाले सकिनासाथ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाए ।

च्यामे विहीबार दिउँसो १२ बजे मात्रै २० महिना कैद सजायबाट मुक्त भएको खुलेको छ । दिउँसो घर पुगेका उनले राति भाउजू मारेका हुन् । महिला देख्ने बित्तिकै जबर्जस्ती गर्न खोज्ने विकृत मानसिकताका च्यामे भाञ्जी बुहारीलाई घाँटीमा खुर्पा प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा २० महिना कैद सजाय भुक्तान गरी जिल्ला काराबारबाट मुक्त भएका थिए ।

३८ वर्षका च्यामेले बेलुकी रक्सी र खाना पनि मृतककै घरमा बसेर खाएको खुलेको छ । विहीबार साँझ अन्दाजी ७/८ बजेसम्म भाउजूकै घरमा खाना र रक्सी खाएर बसेको र राति हत्या गरेको स्थानीयले बताएका छन् । बिहान हुनासाथ गाउँ छाडी भाग्न खोज्दा स्थानीयले समातेर प्रहरीलाई बुझाएको वडाअध्यक्ष हरि बिकले जानकारी दिए ।

यस्तो छ घटना विवरण

शुक्रबार छिमेकी चित्रबहादुर नेपालीको घरमा ब्रतबन्धको कार्यक्रमै थियो । विहीबार बेलुकी नाचगान रमाईलो थियो । रक्सी खाने बहानामा ७/८ बजे च्यामे भाउजूको घरमा पुगेका थिए । रक्सी खाएर च्यामे पनि निस्के र अरु पनि रमाईलो हेर्न ब्रतबन्ध हुने घरमा पुगे । तर, मनकुमारी भने घरमै थिइन् ।

एक्कासी च्यामे भाउजूको घरमै फर्के । त्यसपछि मारेर हिँडे । राति साढे ११ बजेतिर ब्रतबन्ध घरबाट नातिनी मनिषा घर फर्किइन् । हजुरआमालाई हेरिन्, सुतिरहेको देखिन् । उनले सुतेको हजुरआमालाई उठाइनन् । कपडाले हजुरआमाको मुख छोपिइरहेको थियो । त्यसअघि नै हजुरआमाको हत्या भइसकेको मनिषालाई पत्तो भएन ।

मनिषा भुईंमै ओछ्यान लगाएर सुतिन् । मनकुमारीका छोरा रामजी पनि घरमा आएर बाहिर पिढींको खाटमै सुते । मनकुमारीका श्रीमान् भने अर्को घरमा सुतेका थिए ।

बिहान ७ बज्न लाग्दा समेत आमा नउठेपछि रामजीले आमालाई बोलाउन गए । आमा उठिनन् । रामजी हतारिँदै काकीलाई उठाएर ल्याए । आमाको शरीर चिसिइसकेको थियो ।

मनकुमारीको अनुहार र घाँटीमा दागहरु, माडवारी लगाएको कानका लोतिमा रगत लतपतिएको, नाँकको डाँडीमा निलडाम देखिएपछि सबै छिमेकी बोलाएर वडाध्यक्षलाई खबर गरिएको थियो । त्यसपछि, इलाका प्रहरी कार्यालय सल्यानटारबाट सईको नेतृत्वमा प्रहरी टोली आएर च्यामेलाई नियन्त्रणमा लिएको थियो । च्यामे घरमै सुतिरहेका थिए । उनलाई बोलाएर घटनास्थल ल्याइयो । रक्सी खान जान्छु भनेर उनी त्यहाँबाट हिँडे र भाग्ने प्रयास गरे । त्यसपछि च्यामेलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट पनि इन्स्पेक्टरको नेतृत्वमा टोली पुगी मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइयो । घटनामा संलग्न च्यामे पटक पटक बलात्कार तथा ज्यानमार्ने अभियोगमा दोषी ठहर भइसकेको स्थानीयले बताएका छन् ।

यो घटनामा पनि कुनै चोरी लुटपाट नभएको कारण जजर्बस्ती मनसायले हो कि भन्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्नेछ ।

१३ लाख पैसा दिन्छु भनेपछि हत्या गरेँ: च्यामे

हत्या स्विकार्ने च्यामेले आफूलाई १३ लाख दिन्छु भनेर २ जनाले भनेपछि भाउजूको हत्या गरेको भन्दै छिमेकी काका र दाइ पर्नेको नाम पनि मुछेका छन् ।

घटनास्थलमै प्रहरी आएर समातेपछि उनले २ जनाले पैसा दिन्छु भनेपछि आफूले मारिदिएको, एक जनालाई चाहिँ बाटो हेर्न लगाएको भनेर ३ जनाको नाम लिएका थिए । बाटो हेर्न लगाएको भनेर नाम मुछेकालाई भने सल्यान्टार प्रहरीबाटै छाडिएको छ । अन्य दुई जनालाई जिल्ला लगिएको छ ।

तर, स्थानीयले भने यसअघिको रिस फेर्न हत्यामा दुई जनाको नाम मुछेको जिकिर गरेका छन् । अघिल्ला घटनाहरुमा विरुद्ध लागेकै कारण आफूहरुलाई फसाउन खोजिएको २ जनाले दाबी गरेका छन् ।

यस विषयमा एसपी मिश्रले थप खुलाउन चाहेनन् । ‘घटनाको सत्य छानविन गर्न प्रहरी तयार छ । निर्दोष फस्दैनन्, दोषी मात्र सजायको हकदार हुन्छन् ।’ उनले भने – ‘घटनामा शिव भन्नेको संलग्नता देखिन्छ । र, उनले स्विकार पनि गरेका छन् । अरु विषयमा अनुसन्धान भइरहेको छ । सकिनासाथ सार्वजनिक गर्छौँ ।’

धादिङबाट सहकर्मी राजकुमार राजाको सहयोगमा

सम्बन्धित समाचारः

धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ