गोरखाको पालुङटारस्थित एक कालिज फार्ममा आइतबार राति चितुवा पसेर ठूलो नोक्सानी पुर्याएको छ । पालुङटार नगरपालिका वडा नं. ९ लामागरास्थित गोरखा अर्गानिक एग्रो फार्ममा आइतबार राति चितुवा पसेर उक्त नोक्सानी पुर्याएको हो ।
चितुवाको आक्रमणबाट सोही फार्ममा काम गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.१, केराबारीका ४३ वर्षका रवीलाल बस्ताकोटीसमेत घाइते भएका छन् । उनको गोरखा अस्पतालमा प्राथमिक उपचार र चितवनमा थप उपचारपछि अहिले घर फर्किएका छन् । बस्ताकोटीको हात खुट्टामा चोट लागेको छ ।
सञ्चालक जीवन ढकालका अनुसार फार्ममा गत जेठ महिनामा ६ सय २१ वटा कालिज हालिएको थियो । तीमध्ये करिब २० वटा बर्खाको समयमा मरेको र १५ वटा हालसालै विक्री गरिएको थियो । बाँकीमध्ये करिब १ सय ५० वटा कालिज चितुवाको आक्रमणबाट मरेको र करिब ३ सय वटा चितुवाको आक्रमणमा पर्दा अतालिएर भागेको थियो ।
अहिले फार्ममा करिब ५० वटा मात्रै कालिज बाँकी रहेको सञ्चालक ढकालले जानकारी दिए । उनका फार्ममा चितुवा पसेर करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हालै विक्री भएका कालिजमा पोथी १ हजार ७ सय र भाले २ हजार रुपैयाँका दरले विक्री भएका थिए ।
उनका अनुसार ग्याबिन तार माथिबाट लगाएको नाइलनको जाली फाँडेर चितुवा फार्म भित्र छिरेको होे । राति कामदार बस्ताकोटी कालिजलाई दाना दिन जाँदा मात्रै घटनाबारे जानकारी पाइएको थियो । चितुवा साँझ ८ बजेदेखि ११ बजेको बीचमा फार्मभित्र पसेको हुन सक्ने सञ्चालक ढकालले बताए ।
कामदार बस्ताकोटीले केही कालिज मरेको देखेका थिए । अन्य कालिजलाई दाना दिएर फर्किनेक्रममा बन बिरालो जस्तो देखेर धपाउन खोज्दा चितुवाले बस्ताकोटीलाई आक्रमण गरेको थियो । भोलिपल्ट उज्यालो हुँदासम्म फार्म भित्रै रहेको चितुवालाई डिभिजन वन कार्यालय गोरखाका कर्मचारी आएर फार्मको ढोका खेलेर प्राकृतिक रुपमा नै जंगल जान दिएको बताइन्छ ।
चितुवाले फार्ममा भित्र पुर्याएको क्षतिका बारेमा जनप्रतिनिधि, प्रहरी र डिभिजन वन कार्यालयको रोहवरमा क्षतिको विवरण संकलन गरिएको सञ्चालक ढकालले बताए ।
सञ्चालक ढकाललाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिसका आधारमा राहत उपलब्ध गराइने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
ढकालले फार्ममा बंगुर, बँदेल कुखुरा, बाख्रा, भैँसीपालन गर्नुका साथै तरकारी खेतीसमेत गरेका छन् । फार्ममा हालसम्म करिब १० करोड रुपैयाँ लगानी भएको उनी बताउँछन् ।
करिब ७ वर्षदेखि एग्रो फर्म सञ्चालन गरेका ढकालले गतवर्षदेखि मात्रै कालिज पाल्न सुरु गरेका थिए । गतवर्ष ३ सय वटा कालिजबाट राम्रो आम्दानी भएपछि यसपटक दोब्बर कालिज हालेको उनी बताउँछन् । रासस
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो