एसियाकै ठूलो भनिएको स्याउ फार्म एग्रो मनाङ अवैधः दीपक मनाङे [भिडिओ]

पाल्देनको एग्रोविरुद्ध दिपक मनाङे

एसियाकै ठूलो भनिएको स्याउ फार्म एग्रो मनाङ अवैधः दीपक मनाङे [भिडिओ]

'बुद्धि नभएको मानिस एउटै पार्टीमा बस्छ'

Manange

तस्वीरः उमेश पुन

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एमालेका नेता पाल्देन छोपाङ गुरुङको एग्रो मनाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । फार्म मनाङेको निर्वाचन क्षेत्रमा पर्छ । एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियारमा उनले उजुरी दिएका हुन् ।

उनले अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको लगायत विषयमा अख्तियारमा उजुरी दिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । यो फार्म पूर्वसांसद पाल्देन छोपाङ गुरुङको हो । स्थानीयले गाउँमा विद्युत्को समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा उनले सार्वजनिक जग्गा मिचेर एउटै व्यक्तिले हालीमुहाली गरेको आरोप लगाए ।

स्थानीयसँग भेटका क्रममा उपस्थित सबै सहभागीको एउटै गुनासो थियो– माननीयज्यू, गाउँमा बिजुलीको ठूलो समस्या छ, एग्रो मनाङका सञ्चालकहरूले बिजुलीको पोल गाड्न नदिएको हुनाले त्यसको समाधान खोजिदिनुपर्याे, एकपटक निर्वाचन क्षेत्र जाऊँ भनेपछि म त्यहाँसम्म पुगेँ,” उनले भने ।

त्यहाँ पुगेर निरीक्षण गर्दा सिंगो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको उनले बताए । रुख काट्ने र वनजंगल फँडानी गर्ने अधिकार कसले र किन दियो ? जनताहरू आक्रोशित थिए । म सरोकारवाला निकायहरूसँग बुझ्नतर्फ लागेँ, उनले भने । तर, कसैले पनि अख्तियारी नदिएको र एग्रो मनाङ प्रालिले अवैध रूपले लुकीछिपी आफूखुसी रुखहरू काटिरहेको बुझ्नमा आयो ।

जुन जग्गामा उक्त कम्पनी सञ्चालनमा छ, त्यो जग्गा नै विवादित थियो । तत्कालीन समयमा पिसाङ, घ्यारु, ङावल, भ्राका, टंकी, खाङसार समेत सात गाविसका नाममा जिल्ला मालपोत कार्यालय मनाङमा दर्ता भई उक्त जग्गा हाल मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्छ । त्यस जग्गालाई सार्वजनिक भन्ने कि व्यक्तिगत भन्ने स्वयं मालपोत कार्यालय पनि अन्योलमा छ । व्यक्तिगत भनौँ भने गाविसहरूको नामको स्वामित्व छ, सार्वजनिक भनौँ भने जग्गाधनी प्रमाणपुर्जा दिएको छ । अब कुरा आउँछ यस्तो जग्गाको स्वामित्व हाल कोसँग छ ?, मनाङेले भनेका छन् ।

उक्त जग्गाका बारेमा मालपोत कार्यालय समेत अनिर्णीत रहेको उनको जिकिर छ । यसबारेमा प्रश्न गर्दा ‘प्रयोजन नै नखुलाई खाली कागजमा सही गराइएको’ भनेर एक स्थानीयले आफूलाई भनेको मनाङेको भनाइ छ । सोझासाझा गाउँलेलाई झुक्याएर किर्ते कागज गराउनु अर्को बेइमानी भएको उनले बताए ।

मनाङ मर्स्याङ्दी क्लबसँग सम्झौता गरेर एग्रो मनाङले अवैध तरिकाले जग्गा लिजमा लिएको उनको आरोप छ । सोही फार्मले राज्य संयन्त्रबाट करोडौँ अनुदान, सहुलियत ऋण लिएको हुँदा अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको उनको ठहर छ । विज्ञप्तिमा उनले करिब ३८ रोपनी जग्गामा रुखहरू फँडानी गरिएको, पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलिएको आरोप लगाएका छन् ।

विद्यालयको करिब १० रोपनी र छेउछाउको करिब २८ रोपनी गरी अन्दाजी ३८ रोपनी सार्वजनिक जग्गामा रहेका रुखहरू काटिएका छन् । यी सबै कुरा थाहा पाउँदा पनि मौन बस्नु मलाई जनप्रतिनिधिको हैसियतले उचित लागेन र यस सम्बन्धमा कानुनी उपचारमा जाने निधो गरेँ, उनले भनेका छन् ।

‘बुद्धि नभएको मानिस एउटै पार्टीमा बस्छ’

मनाङेले बुद्धि नभएको मान्छे मात्रै एउटै पार्टीमा बसिरहने बताए । मन्त्री पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको प्रसंगमा उनले भने – ‘बुद्धि नभएका मान्छे एउटै पार्टीमा बस्छ। बुद्धि भाको मान्छेलाई अप्सन छ त ।’

पत्रकार सम्मेलनमा उनले भने, ‘ल मान्नूस अहिले कतिजना मान्छेलाई माओवादी चित्त बुझ्दैन अनि पार्टी छोड्छ नि।’

कालान्तरमा नेकपा एकीकृत समाजवादी पनि छाड्ने हो? पत्रकारले सोधको प्रश्नमा उनको जवाफ थियो, ‘समाजवादी मैले जब माधव नेपालले पार्टी छाड्छ, म पनि छाड्ने हो। माधव नेपालले नछाडे मेरो पनि नछाड्ने सोच हो।’

केन्द्रमा तीन पार्टीका अध्यक्ष बसेर गरेको निर्णय गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन नगरेकोमा उनको आक्रोश छ । उनले आफूलाई मन्त्री नबनाएको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सोध्न पत्रकारसँग आग्रह गरे ।

‘माधव कुमार नेपालजस्तो हाइट भएको मानिसले फोन गरेर भन्दाखेरी नमान्ने भनेको हाँसो उठ्दो कुरा हो । फेरि, हाम्रो अध्यक्षले मुख्यमन्त्रीलाई भन्ने होइन । तीन जना अध्यक्षबीच कुरा गर्ने हो । यहाँ त हामीले मुख्यमन्त्री बनाउने हो जुन बनाइसक्यौ ।’ उनले भने ।

फिल्मका कुरा समेत गर्न उनले भ्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ