ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

gurung tourism

पोखरा । तमुहरूको महान पर्व मुप्री ल्होसार/ल्होछारका अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुरुङहरूको सहभागिता एवम् गुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए ।

समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख आधार पर्यटन नै भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारको पूर्व पर्यटन मन्त्री समेत रहनुुभएका गुरुङले यसका माध्यमबाट रोजगारी अभिबृद्धि गर्न सकिने बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सरकारको उदाशिनता देखिएको बताउँदै उनले चाँडो उडान सञ्चालन गर्ने गरी लाग्नुपर्नेमा जोड दिए ।

गुरुङ समुदायका युवाहरू व्यवसासयिक रुपमा अघि बढ्नुुपर्नेमा जोड दिंदै उनले सफलताका लागि निरन्तरता, धैर्यता आवश्यक हुने बताए ।
गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार बोबरजंग गुुरुङले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउँदै गण्डकीमा पर्यटनका माध्यमबाट आयआर्जन एवम् रोजगारी बृद्धिका धेरै सम्भावना रहेको बताए । संघले गुरुङ समुदायका ऐतिहासिक गाउँहरू समेट्दै कास्कीको ताङतिङदेखि याङ्जाकोट, सिक्लेस हुँदै दुधपोखरीबाट मनाङको तिमाङ सम्मको पदमार्ग विकास गर्ने अवधारणा अघि सारेको उनले बताए । गुरुङ सम्पदा पदमार्गका रुपमा यसको विकास गर्न सकेमा यसले पदयात्रा पर्यटनसँगै समग्र पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा गुुरुङ पर्यटन व्यवसायीहरूको विशिष्ट योगदान हुँदै आएको बताए । कोरोना प्रभावित पर्यटनलाई सहयोग पुर्‍याउन पृथ्वीसुव्वा गुरुङ नेतृत्वको तत्कालीन गण्डकी प्रदेश सरकारको समयमा ल्याइएको व्यवसाय जीवन रक्षा कोषको अवधारणा सह्रानीय भएको बताउँदै उनले सरकारको व्यवसायमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेलले गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा बोर्डले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्होलासोँथर गाउँपालिका लम्जुुङका अध्यक्ष सूर्य गुरुङले गुरुङसम्पदा पदमार्गको विकासका लागि पालिकाका तर्फबाट सक्दो बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।

गुुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङको अध्यक्षतामा एवम् महासचिव तुल गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरूले प्रकृति र संस्कृतिको उपयोगसँगै पर्यटनलाई उत्पादनसँग जोड्न सकिने धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ