गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनलाई सोमबार प्रदेश सभाको बैठक बोलाइएको छ ।
सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने पत्र प्राप्त भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएरै बजेट ल्याउने तयारीमा लागेका हुन्। पाण्डेले शुक्रबार नेपाली कांग्रेसका सांसदसँग छलफल गरेर विश्वासको मत लिने मिति तोकेका हुन्।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १४ जेठमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा ९(३) अनुसार पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। असार १३ गतेसम्म विश्वास मत लिने समय थियो। तर, उनले त्यस अगावै विश्वासको मत लिन लागेका हुन्।
६० सांसद रहेको गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन ३१ सांसदको समर्थन चाहिन्छ। नेपाली कांग्रेसका २७ सांसद छन्।
नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा एकीकृत समाजवादी रोजेका राजीव गुरुङ (दीपक मनाङे) छन्। पाण्डेले विश्वासको मत पाउन कांग्रेसबाहेक थप ४ सांसदको समर्थन चाहिन्छ।
राप्रपाका दुई, राजिव गुरुङसँगै नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेसपाका सांसद फणिन्द्र देवकोटाले समर्थन गर्ने कांग्रेसको आश छ। यी ३ पक्षलाई मनाउन कांग्रेस लागिपरेको छ।
लिङ्देनलाई देउवाको पत्र
शुक्रबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेको खबर सार्वजनिक भएको छ।
देउवाले पत्रमा लेखेका छन्, ‘…प्रदेशको नीति, कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले जेठ २८ गते विश्वासको मत लिन लाग्नुभएको यस विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्न अनुरोधसहित कांग्रेसको तर्फबाट तपाईंलाई यो पत्र पठाएको छु।’
विश्वासको मतले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न मात्र नभइ दलहरुबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेमा कांग्रेस विश्वस्त रहेको देउवाले उल्लेख गरेका छन्।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो