ढोरपाटन । धौलागिरिलाई लोक गीत संगीतको उर्वर क्षेत्रका रूपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढ दशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् ।
केही बुढापाकाबाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारले समेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।
हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् । दोहोरी गीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रूपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् । पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुन सकेको छैन ।
यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ । पछिल्लो समय बजारमा आएका आधुनिक, पप, र्याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाइ छ । यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ ।
दुई दशक अगाडि मेला, महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका ९ का ७७ वर्षीय गुमानसिंह पुनले बताए । पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उनको भनाइ छ ।
पहिले पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो
अहिलेका युवायुवतीले मौलिक गीत छोडेर हिन्दी र अंग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया, सुनिमाया भाका लोप भएको उनको गुनासो छ । ‘अब म चार बीस (८०) पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया, सुनिमाया गीत गाउन मन लाग्छ, मेरो दाैँतरी धेरैले छाडेर गए, यानीमाया, सुनिमाया गीतले जीवन बोल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिँदैनथ्यो, सकिँदैनथ्यो’, उनी भन्छन्, ‘अहिले त त्यस्ता गीत कसैले गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातिलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन् ।’
गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा फरक हुन्छ । गीतको बीच बीचमा ‘यानीमाया/सुनिमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनिमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिमला बुढा मगरले जनाइन् । आफ्नो पालामा तरुनी तन्नेरी भेट हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधी बस्न छोडिएको र त्यस्ता गीत लोप हुँदै गएको उनको भनाइ छ ।
केही वर्षयता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको अनुभव छ । बुढा मगरले भनिन्, ‘हाम्रो बाउ, बाजेले निकै गाउनुहुन्थ्यो, यानीमाया हामीले उहाँहरूबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा गाउन अलि गाह्रो हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो ।’ रासस
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो