पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष परेको भ्रष्टाचारसम्बन्धी उजुरीमा देशभरको स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । प्रदेशगत तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको छ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले आयोग र आयोगका कार्यालयमा दर्ता भएको स्थानीय तह विरुद्धका उजुरीमध्ये पोखरा महानगरपालिका (कास्की) सबैभन्दा अगाडि र दोस्रोमा काठमाण्डौ महानगरपालिका रहेको बताए ।

उनले भने – ‘देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको छ । पोखरा महानगर विरूद्धको मात्रै गत वर्ष ३ सय ५९ उजुरीमाथि अनुसन्धान भएको छ ।’

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन् ।
प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गरे ।

मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराए ।
आयोग पोखरा प्रमुख तामाङले आर्थिक वर्ष २०८०/८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिए । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको बताए ।
आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी दिए ।
आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका आठ वटा कार्यालयहरूबाट आयोगका कार्यहरू सम्पादन हुँदै आइरहेका छन् । ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?