पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी सोमबार दिउँसो आफ्नै कार्यकक्षमा थिए । सचिवालयबाट उनले भेटघाटका लागि अपाङ्गता भएकाहरुको टोली मन्त्रालय आएको जानकारी पाए । २० जनाको उक्त टोलीमा चार जना ह्विलचियरमा आएका थिए । उनीहरुलाई कार्यकक्षसम्म पुर्याउन अप्ठेरो हुने बुझेर मन्त्री केसी स्वयं ‘म नै तल जान्छु, उहाँहरुलाई दुःख नदिऔं’ भन्दै ओर्लिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री केसीलाई सात बुँदे माग बुझाउन समय लिएको थियो । सोमबार मन्त्रालयको प्राङ्गणमा भएको भेटमा टोलीले मन्त्री केसीलाई अपाङ्गता भएका व्यक्तिको हकमा गरिनुपर्ने कामबारे विभिन्न सात वटा माग राखेको छ ।
प्रदेशभित्र निर्माण हुने भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अनुरुप निर्माण हुनुपर्ने, अतिआवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय पहुँचयुक्त हुनुपर्ने, नगर तथा प्रदेशस्तरमा पहुँचयुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने, फुटपाथ, सडकपेटी, जेब्रा क्रसिङजस्ता संरचना अपाङ्गमैत्री बनाउनुपर्ने, सरकारी संरचनाको पहुँच युक्तता परीक्षण गरी सुझावअनुसार पहुँचयुक्त बनाउन, बहिरा अपाङ्गता भइकालाई लाइसेन्स प्रदान गर्न प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ मा आवश्यक संशोधन गर्न ऐनलाई अपाङ्गमैत्री र समावेशी बनाउन, इन्जिनियर तथा कर्मचारीलाई अपाङ्गतासम्बन्धी बनेका नीति, ऐनबारे अभिमुखिकरण गराउन माग गरिएको छ ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ र प्रादेशिक नीतिमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोधमुक्त वातावरण बनाउने भनिएपनि हुन नसकेको उपाध्यक्ष अञ्जना केसीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । महासंघको सचिवालय सदस्य हेम गुरुङले २०६९ सालमा पहुँचयुक्त भौतिक संरचना तथा सेवा निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत भएको तर कार्यान्वयन फितलो रहेको गुनासो गरे । उनले गण्डकी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्तता तथा समावेशिता स्थापित गर्न पहल गर्न आग्रह गरे ।
पत्र बुझेपछि मन्त्री केसीले आफ्नो कार्यकालमा अपाङ्गता भएकाहरुका लागि बनेका नियम–कानुन कार्यान्वयन गर्न, नयाँ बनाउने क्रममा विशेष ध्यान दिने बताए । उनले हाल रहेका सरकारी भवन धेरै पुराना रहेकाले अपाङ्गमैत्री बन्न नसकेकोमा दुःख व्यक्त गरे । ‘हाम्रा कार्यालयहरु पुराना र पहिल्यै बनेका छन् । म आफैं तपाईंहरुसँग कार्यकक्षमा नभई यहीँ भेटेँ,’ मन्त्री केसीले भने, ‘बनिसकेका भवनमा केही गर्न सकिने अवस्था रहेछ भने पनि बुझ्छु । अब बन्ने भवनलाई अपाङ्गमैत्री बनाउन ध्यान रहने छ ।’ मन्त्री केसीले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा आफ्नो मन्त्रालयले गर्ने काम गर्दा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’