बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दसैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्व वडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हालेका हुन् ।
१५ वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो । चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो । तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो । तर यस पटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण गर्न र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताए ।
३० हजार लागतमा चर्खे पिङ तयार भएको उनले बताए । पछिल्लो समयदेखिनै छाडेको चर्खेपिङ संरक्षण गर्नुपर्ने उनको भनाइ छ । उनले आफ्नो न्यू सिर्जना फर्निचर उद्योगको तर्फबाट गाउँमा पिङ हालेको जानकारी दिए ।
‘एक दशकयता बागलुङसहित धेरै स्थानमा यो चर्खेपिङ हराइसक्यो, सयममै यसको संरक्षण सुरु नगर्ने हो भने नयाँ पुस्ताका लागि यो दन्त्य कथा बन्नसक्छ, बाह्रा वर्षका बालबालिकाले सिगानामा पहिलोपटक चर्खेपिङ खेल्न पाएको प्रतिकृया आएको छ’, जिसीले भने, ‘कम्तीमा एक वडा एक चर्खेपिङ, एक टोल एक लिङ्गे पिङ हाल्ने अभियान चलाउन आवश्यक छ, पछिल्लो समय संरक्षणका लागि भएपनि मालिका, सिगाना, रेशलगायतका ठाउँमा चर्खेपिङ देख्न पाइएको छ ।’
यस्तै काठेखोला गाउँपालिका–७ रेश पिडाल्लामा यसपटक चर्खेपिङ हालिएको छ । त्यहाँका युवाहरुले पछिल्लो पुस्तामा हराउदै गएको चर्खेपिङ हालेका हुन् । बागलुङ नगरपालिका–५ स्थित साझखोलामा सामुदायिक वन र स्थानीयको सक्रियतामा चर्खेपिङ तीन वर्ष यता हालिँदै आइएको छ । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिन्छ । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।
चर्खेपिङ संरक्षण जरुरी भइसकेको साझखोलाका स्थानीय जुना न्यूरेले बताए । ११ वर्षअघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको र तीन वर्ष यता साँझखोलामा संरक्षणका लागि चर्खेपिङ हालिएको न्यूरेको भनाइ छ । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताका आधारमा दसैँतिहारमा चर्खेपिङ, रोटेपिङ र लिङ्गे पिङ हाल्ने चलन छ ।
–खेमराज गौतम/रासस
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो