लमजुङ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् ।
अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री पाठकले लमजुङ जिल्ला अस्पताल प्रदेशको महत्वपूर्ण अस्पताल बताए । उनले यो पायक पर्ने अस्पताल भएकाले सेवाग्राहीको संख्या उल्लेख्य रहेको जनाए ।
लमजुङ अस्पतालको स्तरोन्नतिका काम अब अघि बढिहाल्ने पनि उनले जानकारी दिए । ‘आधुनिक भवन निर्माण हुँदैछ । अब टेण्डर प्रक्रियामा जान्छ । विशेषज्ञसहितका सिटी स्क्यान लगायत अत्यावश्यक उपकरण सेवा अस्पतालमा जोडिनेछन् ।’ – पाठकले भने ।
स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको भन्दै मन्त्री पाठकले यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको बताए ।

‘९८ प्रकारका औषधि निःशुल्क भनिएपनि औषधि पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न लागिपरेको छु ।’ उनले भने ।
स्वास्थ्यकर्मीको समस्याबारे आफू जानकार रहेको भन्दै उनले स्तरवृद्धि तथा आवश्यक तालिमहरू गर्न आफूले ल्याउने बजेटमा व्यवस्था गर्ने पनि बताए ।
७१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको उल्लेख गर्दै मन्त्री पाठकले समुदायतहसम्म पुगेर रोगहरुको स्क्रिनिङ गरी औषधोपचार गर्नुपर्छ भनेर स्थानीय तह, वडा तहसम्म मिलेर काम गर्न तत्पर भएको सुनाए ।
डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ संक्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत पनि गरे ।
कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले गरेका थिए ।
लमजुङ अस्पताल २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालको रूपमा स्थापना भएकोमा सरकारले सञ्चालन गर्न नसकेपछि २०५८ मा समुदायलाई हस्तान्तरण गरिएको थियो । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सरकारसंग सम्झौता गरी २०५८ साउन ५ देखि सञ्चालन गर्दै आएको थियो ।
सरकारले सञ्चालन गर्न नसकेपछि गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल लमजुङ २१ वर्षपछि दुई वर्ष अघि सरकारलाई नै हस्तान्तरण गरिएको हो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?