पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने महासंघको महाधिवेशनका लागि पत्रकार सम्वद्ध संगठनहरूले गठबन्धनसहित भागबन्डा गरेका छन् ।
महाधिवेशनका लागि नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका छन् । पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका कमिटीका लागि भागबन्डा गरेका हुन् । युनियनले अध्यक्ष चौतारीलाई छाडेर अधिकांश पदाधिकारीमा उम्मेदवारी दिएको छ।
चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमति बनेको हो। सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्य पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ ।
अध्यक्ष प्रेस चौतारी र महासचिव यूनियनलाई
गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारेको छ। महिला उपाध्यक्षमा नीतु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियसन छन्। अध्यक्षका उम्मेदवार निर्मला र कोषाध्यक्षका उम्मेदवार रामकृष्णसँग पोखरा जोडिन्छ । पत्रकारितामा रामकृष्ण पोखरामै सक्रिय भएपनि निर्मला भने काठमाण्डुबाटै पत्रकारिता गरिरहेकी छन् । रामकृष्ण समाधान दैनिकका प्रधान सम्पादक हुन् ।
प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा, दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल छन्। यस्तै, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारी छन्। सोनी तनहुँकी हुन् ।
गण्डकी प्रदेश यूनियनको भागमा
गठबन्धनले प्रदेश र जिल्ला तहमा पनि जिम्मेवारी भागबन्डा लगाएको छ ।
कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट, र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने गरी भागबन्डा गरिएको छ ।
गठबन्धनसँग प्रतिस्पर्धा गर्न प्रेस सेन्टर नेपालले नेकपा माओवादी केन्द्र र अन्य वामपन्थी समूहहरूसँग संयुक्त प्यानल बनाएको छ ।
अध्यक्ष पदका लागि कमल गिरी उम्मेदवार छन्। उनको समर्थनमा माओवादीको भ्रातृसंगठन प्रेस सेन्टरका विष्णु सापकोटा र एकीकृत समाजवादीको भ्रातृसंगठन समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी उभिएका छन्।
यो प्यानलबाट गिरीसँगै वरिष्ठ उपाध्यक्ष रोशन पुरी, महिला उपाध्यक्ष गंगा बराल, समावेशी उपाध्यक्ष सुभाषप्रसाद साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी तथा जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा ध्रुव रावलसहित मैदानमा छन् ।
यसअघि पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रहेका रमेश विष्टले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।
जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४१ युनियन जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।
सदस्यता विवादका कारण अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका थिए। सदस्यतासम्बन्धी विवाद लगभग हल गरेपछि महासंघले महाधिवेशन गर्न लागेको हो।
यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो। त्यसबेला प्रेस चौतारीकी निर्मला शर्मालाई हराउँदै प्रेस युनियनका विपुल पोख्रेल अध्यक्ष निर्वाचित भएका थिए।
त्यसबेला प्रेस युनियन, प्रेस सेन्टरलगायत पत्रकारका ११ संघसंस्थाले पोख्रेल नेतृत्वको प्यानललाई समर्थन गरेका थिए।

सदस्यता विवादै विवादबीच जेठमा हुनुपर्ने महासंघको निर्वाचन मंसिरसम्म धकेलिएको हो ।
महाधिवेशनको नतिजाले महासंघको आगामी नेतृत्वको दिशा निर्धारण गर्नेछ। यसपटकको निर्वाचन कांग्रेस र एमालेनिकट संस्थाहरूबीचको सहकार्य र वामपन्थी समूहहरूको संयुक्त मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु