दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये दुईजना महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरू एकजना चालक दलका सदस्य र एकजना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरूबाहेक अरू कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुईजना थाइल्यान्डका र अरू सबै दक्षिण कोरियाका थिए ।
विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

Photo: Reuters
कसरी भयो दुर्घटना ?
विमान चराको सम्पर्कमा आएकाले दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको एकाथरी विश्लेषण आइरहेको छ । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आयो ।
विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्न खोज्दा रनवेमा चिप्लियो र विमानस्थलको पर्खालमा ठोक्किएर विमानमा विस्फोट भएको अनि आगो लागेको भनेर दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापलाई उद्धृत गर्दै अन्य सञ्चार माध्यमले समाचार छापेका छन् ।
अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानको अकताउ नजिकै दुर्घटना भएको केही दिनपछि यो दुर्घटना भएको हो । उक्त दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा रूसी वायु सुरक्षाले गल्तीले विमान खसालेको सङ्केत गरिएको थियो ।
यसैबीच शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अजरबैजानका नेतासँग माफी मागेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच जारी तनावबीच दुर्घटनाको पछाडि केही षड्यन्त्र हुन सक्ने आशङ्का गरिएको छ ।
आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको आपतकालीन अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सुङ मोकले राहत र उद्धारका लागि सबै सम्भव कदम चाल्न निर्देशन दिएका छन् । केही बेर अघि मोक दुर्घटनास्थलमा पुगेका थिए ।
अनलाइन र सामाजिक सञ्जालमा दुर्घटनाको भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसमा धावनमार्गमा अवतरण गरिरहँदा विमान चिप्लिएर धावनमार्गबाट केही पर रहेको रहेको पर्खालमा ठोक्किएको, तत्कालै ठुलो विस्फोट भएको र विमान आगोको गोलामा परिणत भएको देखाएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह