दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये दुईजना महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरू एकजना चालक दलका सदस्य र एकजना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरूबाहेक अरू कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुईजना थाइल्यान्डका र अरू सबै दक्षिण कोरियाका थिए ।
विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

Photo: Reuters
कसरी भयो दुर्घटना ?
विमान चराको सम्पर्कमा आएकाले दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको एकाथरी विश्लेषण आइरहेको छ । अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा खराबी आयो ।
विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्न खोज्दा रनवेमा चिप्लियो र विमानस्थलको पर्खालमा ठोक्किएर विमानमा विस्फोट भएको अनि आगो लागेको भनेर दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहापलाई उद्धृत गर्दै अन्य सञ्चार माध्यमले समाचार छापेका छन् ।
अजरबैजान एयरलाइन्सको विमान कजाकस्तानको अकताउ नजिकै दुर्घटना भएको केही दिनपछि यो दुर्घटना भएको हो । उक्त दुर्घटनामा विमानमा सवार ६७ जनामध्ये ३८ जनाको मृत्यु भएको थियो । प्रारम्भिक अनुसन्धानमा रूसी वायु सुरक्षाले गल्तीले विमान खसालेको सङ्केत गरिएको थियो ।
यसैबीच शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अजरबैजानका नेतासँग माफी मागेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच जारी तनावबीच दुर्घटनाको पछाडि केही षड्यन्त्र हुन सक्ने आशङ्का गरिएको छ ।
आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको आपतकालीन अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई सुङ मोकले राहत र उद्धारका लागि सबै सम्भव कदम चाल्न निर्देशन दिएका छन् । केही बेर अघि मोक दुर्घटनास्थलमा पुगेका थिए ।
अनलाइन र सामाजिक सञ्जालमा दुर्घटनाको भिडियोहरू पनि सार्वजनिक भएका छन् । यसमा धावनमार्गमा अवतरण गरिरहँदा विमान चिप्लिएर धावनमार्गबाट केही पर रहेको रहेको पर्खालमा ठोक्किएको, तत्कालै ठुलो विस्फोट भएको र विमान आगोको गोलामा परिणत भएको देखाएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?