पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कास्कीका केही क्याम्पसमा घोषित मिति आज चैत ५ गते निर्वाचन सम्पन्न भएको छ भने केहीमा निर्वाचन नै स्थगित गरिएको छ ।
देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा निर्वाचन नै अनिश्चित बनेको छ । अध्यक्षका उम्मेदवारको मतदान गर्ने कोठा नभएको पाइए पछि निर्वाचन स्थगित गरी चैत ६ गते बिहान ८ बजे गर्ने भनिएकोमा निर्वाचन समितले अबेर विज्ञप्ति जारी गरी उचित वातावरण नहुन्जेलसम्म चुनाव नहुने बताएको छ ।
अब अर्को मिति नतोकिएसम्म पिएनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको हो । संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले भोलि हुने भनिएको मतदान स्थगित भएको निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले बताए ।
‘भोलिको निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बाधा उत्पन्न भएकाले सर्वपक्षीय छलफलद्वारा स्ववियु निर्वाचनको अर्को निर्वाचन मिति तय गर्ने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’, उनले विज्ञप्ति मार्फत् भनेका छन् ।
मंगलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने भनिएको स्ववियुको निर्वाचन मतपत्र छपाइमा त्रुटि भएपछि सुरु हुनै सकेन । निर्वाचन समितिको गम्भीर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा मतदान सुरु भएको थिएन ।

निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ठ राखिएको थिएन ।
यसलाई निर्वाचन समितिले आत्मालोचना गरेको जनाउदै बुधबार विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मलाई तोकिएकोमा स्थगित गरिएको हो ।
यस्तै, जनप्रिय क्याम्पसमा पनि निर्वाचन स्थगित भएको छ । क्याम्पसले अर्को मिति तय गरिसकेको छैन । सुरुदेखि नै चुनाव भाँड्न लाग्नेहरुकै हितमा जनप्रिय क्याम्पस प्रमुख र क्याम्पस प्रशासन पक्ष लाग्दा अनेरास्ववियु आक्रोशित बनेको छ ।
उता, विवादका कारण संस्कृत विद्यापीठमा पनि निर्धारित मितिमा निर्वाचन हुन सकेन । चैत १० गते निर्वाचन गरिने तयारी गरिएको छ ।
तीन क्याम्पसमा निर्वाचन सम्पन्न
मूल गेटमा तालाबन्दीकाबीच इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ । नेवि संघका एक पक्ष सचिव उम्मेदवारी दर्ता गर्न पाइएन भन्दै आन्दोलनमा उत्रिएपनि निर्वाचन समितिले चुनाव गरेको हो ।
नेविसंघभित्र नै भएको आन्तिरक विवादले सचिव छुट्न पुगेको हो । नेविसंघबाट सचिव पदमा कुशल सापकोटा र प्रशान्त जोशी आकांक्षी थिए । यी दुईबीच मतभेद हुँदा कुशल पक्षले प्रशान्तको मनोनयन पत्र च्यातिदिएका थिए । प्रशान्तले सोही पत्र निर्वाचन समितिलाई बुझाएकोमा समितिले त्यसलाई खारेज गर्यो ।
नेविसंघका विद्यार्थीले क्याम्पसको गेट अगाडि नै रिले अनसन गरेका थिए । मूल गेटमा नेविसंघ नेता कृष्णजंग कार्की र राजिव अधिकारीले सोमबार बेलुकीबाट अनशन थालेका थिए । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेको भन्दै उम्मेदवारी कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए । उनीहरूले टायर बालेर प्रदर्शन पनि गरेका थिए ।
जसकारण दिउँसो अबेरसम्म मतदानका लागि क्याम्पस भित्र प्रवेश गर्ने वातावरण थिएन । होस्टलभित्रका विद्यार्थीले बिहानैदेखि मत दिए भने मूल गेटमा अवरोध भएपनि अन्यले दोस्रो गेट प्रयोग गरी भित्र गएर मतदान गरेको निर्वाचन अधिकृत दीपक थापाले बताए । ८ सय बढी मत खसेको छ । मत परिणाम प्राप्त भइसकेको छैन ।
यस्तै, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी विरुद्ध एमाले र माओवादी समर्थित विद्यार्थी एक भएर चुनाव लडेकोमा संयुक्त प्यानलले सबै पद जितेको छ ।
निर्वाचन संयोजक डा. रामप्रसाद शर्माका अनुसार संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका अभिषेक शर्मा अध्यक्षमा विजयी भएका छन् । सचिव अखिल क्रान्तिकारीका गौरव खड्का विजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ विजयी भइन् ।

५ जना सदस्यहरुमा अनेरास्ववियुबाट २ जना र अखिल क्रान्तिकारीबाट ३ जना विजयी भएका छन् । सुनिलसिंह भण्डारी, सिद्धान्त खनालका साथै रिया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह विजयी भएका छन् ।
यसैगरी, नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन् । त्यस्तै, सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह