पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको कुलपति पदमा दरखास्त आह्ववान गरेकोमा आवेदन दिएका मध्ये ५ जनाको स्वीकृत भएको छ । निवेदन दिने ७ मध्ये २ जनाको अस्वीकृत भएको छ ।
फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको थियो । कुलपति सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार आवेदन दिनेमध्ये प्राडा नवराज देवकोटा, प्राडा कुश्माकर न्यौपाने, प्राडा सरोज कोइराला, प्राडा इन्द्रप्रसाद तिवारी र प्राडा विश्वकल्याण पराजुलीका निवेदन स्वीकृत भएको छ ।
प्राडा कृष्णप्रसाद गौतम र सहप्राडा कृष्णप्रसाद अधिकारीको दरखास्त अस्वीकृत भएको छ । कानुनले तोके वमोजिमको योग्यता र कागजात नभएका कारण उनीहरुको दरखास्त अस्वीकृत भएको हो ।
प्राडा नवराज देवकोटा गण्डकी विश्वविद्यालयकै उपकुलपति हुन् । गोरखा घर भएका उनी यसअघि रामपुर कृषि क्याम्पसमा आवद्ध थिए ।
पर्वतका प्राडा कुसुमाकर न्यौपाने पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्व विभागीय प्रमुख हुन् । लोक साहित्यको क्षेत्रको अध्ययन अनुसन्धामा लामो समयदेखि क्रियाशील उनी अहिले पोखराको फूलबारीमा बस्छन्
पोखरा घर भएका प्राडा सरोज कोइराला पृथ्वीनारायण क्याम्पसका निवर्तमान प्रमुख हुन् । अंग्रेजी साहित्यमा विद्यावारिधि प्राप्त कोइराला यसअघि पोखरा विश्वविद्यालयको उपकुलपतिको प्रतिस्पर्धामा समेत सामेल थिए ।
कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ ।
पोखरा घर भएका प्रा.डा पराजुली पृथ्वीनारायाण क्याम्पस पोखरामा समाजशास्त्र तथा मानवशास्त्रको पूर्व विभागीय प्रमुख हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य रहिसकेका पराजुली शैक्षिक र अनुसन्धानात्मक गतिविधिमा क्रियाशील छन् ।
यसैगरी, स्वीकृत हुन नसकेका तनहुँको शुक्लागण्डकी घर भएका प्राध्यापक गौतम त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन भइसकेका व्यक्ति हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसमा समेत लामो समय पढाएका उनी रेडक्रस लगायत सामाजिक संस्थामा क्रियाशील छन् ।
कास्कीको मादी घर भएका सहप्राध्यापक अधिकारीले भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरमा पढाउँछन् ।
अब सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्यमध्ये ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।
विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘गण्डकी विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो । संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो ।
गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ । हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन् ।
समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर दरखास्त आह्वान गरिएको हो । त्यसो त थप एक पदावधिको लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । त्यो सम्भावना भने अब टरिसकेको छ ।
विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था छ ।
कुलपतिको पदमा पहिलोपटक नियुक्तिका लागि सिफारिस गर्न प्रदेश सरकारको शिक्षा क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र प्रमुख सचिव सदस्य रहेको ३ सदस्यीय समितिको व्यवस्था थियो । सुरुमा न्यासिक परिषद् गठन नभइसकेकाले कानुनमै त्यस्तो प्रावधान राखिएको हो । प्रा.डा गुरुङ त्यही समितिको सिफारिसमा नियुक्त भएका हुन् ।
गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी भइरहेको छ । गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेश सभाबाट २०७६ असोज २७ मा पारित भएसँगै यसले विश्वविद्यालयको मान्यता पाएको हो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सोच र अग्रसरतामा विश्वविद्यालय खुलेको हो ।
विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचल अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई)पढाइ हुन्छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?