काठमाडौँ — वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोकिने भएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको हो।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।
यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।
ती पदाधिकारीका अनुसार परीक्षा सञ्चालन जिल्ला समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारीलाई नै परीक्षाको सबै जिम्मा दिने विषयमा छलफल भएको छ। बैठकमा ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको पनि सक्छन्’ भन्नेमा अधिकांशको मत मिलेको थियो।
बैठकमा सबै शिक्षकहरू आन्दोलनमा नआएकोले ती केन्द्रमा शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा छलफल भएको थियो। बोर्ड अध्यक्ष शर्मा भन्छन्, ‘सबै शिक्षक आन्दोलनमा हुनुहुन्न। सकेसम्म हामी शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्छौँ। जहाँ हुनुहुन्न, त्यहाँ सीडीओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ।’
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो