पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन्। नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ ।
नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताए । बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए। स्वास्थ्य सम्बन्धी अभियानहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताउँदै उनले पूर्ण खोपको सुनिश्चिततामा समेत उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप एक प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताए । महानगरपालिका क्षेत्रमा रहेका सबै बालबालिकाहरूलाई समयमा नै खोप उपलब्ध गराउने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको उनले बताए। बालबालिकाको स्वास्थ्य सुरक्षा विना स्वस्थ नागरिकको सामाजिक आवश्यकता पूर्ति गर्न नसकिने उनले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले आफूहरूको महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना घोषणाका लागि निरन्तर अभियानहरू सञ्चालन गरेको बताए। विगत एक वर्षको अवधिमा ०–१५ महिनासम्मका ५ हजार ३४१ र १६–२३ महिनासम्मका ४ हजार १५० बालबालिकाहरूको घरघरमा पुगेर खोपको अवस्था यकिन गरिएको स्वास्थ्य महाशाखा प्रमुख पौडेलले बताए। अभियानका क्रममा जन्मदेखि कुनै पनि खोप प्राप्त नगरेको एक जना बच्चा फेला परेको र उक्त बच्चालाई समेत खोपको पहुँचमा ल्याइएको महाशाखाले जनाएको छ । यस क्रममा ४१ जना बालबालिकाहरूले पूर्ण खोप प्राप्त नगरेको पाइएपछि उनीहरूलाई समेत पूर्ण खोप लगाइएको छ ।
पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बालबालिकाहरूको स्वास्थ्य प्रवर्द्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन सबै वडा कार्यालयहरू प्रतिबद्ध रहेको बताए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेलले बालबालिकाहरूलाई आवश्यक खोप तथा पोषणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानहरूमा महिला स्वयमसेविकाहरुको भूमिका उल्लेखनीय हुने गरेको बताए । नगर क्षेत्रका खोप लगाउनु पर्ने बालबालिकाहरूलाई खोप लगाएको सुनिश्चित भएपछि महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले बताए। कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले बालबालिकाको स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् ।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ भने पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि ५९ महिना सम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो