पोखरा वडा नं. ९, शान्तिवनवाटिका स्थित पोखरा बहुमुखी क्याम्पसले ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ ।
सामुदायिक शिक्षालाई सुलभ, सर्वसुलभ र गुणस्तरीय बनाउँदै आएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित मापदण्डअनुसार क्युुएए प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्दै क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पसले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्युएए प्रमाणपत्रले पोखरा बहुमुखी क्याम्पसलाई शैक्षिक, प्रशासनिक, भौतिक र सामाजिक सबै पक्षमा थप सुदृढ, पारदर्शी र उत्तरदायी बन्ने बाटोमा प्रेरित गरेकाे उल्लेख गरेकी छन् ।

२०४४ साल मंसिर १४ गते गते पोखरा टुँडिखेलस्थि राष्ट्रिय माविको भवनमा स्थापना गरिएको क्याम्पस अहिले शान्तिवनस्थित आफ्नै भवनमा सञ्चालित छ । त्यसअघि महेन्द्र मावि नयाँबजारको भवनमा क्याम्पस चल्दै आएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । पोखरा महानगरपालिकाले क्याम्पसलाई जग्गा उपलब्ध गराएको हो । चन्दादाताहरुबाट रकम संकलन गरी भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।
क्याम्पसको पूर्वाधार, प्रशासनिक प्रणाली, शैक्षिक गुणस्तर र वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आएर क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्युएए प्रोसेस रिफ्लेक्सन प्रस्तुति दिँदै प्राध्यापक तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक महेन्द्र रिमालले जनाए । क्युएए प्रमाणपत्र प्राप्त भएपछि यहाँ पढेका विद्यार्थीको सर्टिफिकेट विश्वभरका उत्कृष्ट विश्वविद्यालयले मान्यता दिने उनले बताए ।

स्थानीय निकाय, समाजसेवी संस्था तथा निजी क्षेत्रको सहकार्यमा क्याम्पसले सामुदायिक शिक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले बताए । क्याम्पसमा स्नातक तहमा मानविकी र व्यवस्थापन संकायको पढाइ हुन्छ । अध्ययनरत विद्यार्थीको संख्या झण्डै ५ सय रहेको क्याम्पसले शैक्षिक विस्तारको योजनाअनुसार चाँडै नै बिबिए, बिआइएम, बिआइटी लगायत कार्यक्रम थप्ने योजना क्याम्पस प्रमुख पराजुलीले सुनाइन् ।
विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले क्याम्पसले विभिन्न ननक्रेडिट कोर्स सञ्चालन गर्दै आएको जानकारी प्राध्यापक रिमालले दिए । उनकै भनाइमा पोखरा बहुमुखी क्याम्पसले शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई पनि बराबरी महत्व दिँदै आएको छ ।

क्याम्पसले वातावरण संरक्षण, वन व्यवस्थापन, महिला सशक्तीकरण, साइबर सुरक्षा, मानसिक स्वास्थ्य, लैंगिक हिंसा न्यूनीकरण, लैंगिक समानता, आत्मनिर्भरता, जीवनसीप र नेतृत्व विकास जस्ता विषयमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको रिमालले बताए । खेलकुदको क्षेत्रमा समेत क्याम्पस सक्रिय छ। विशेष गरी फुटबलमा छात्र र छात्रा दुवै समूहका लागि छुट्टाछुट्टै टोली गठन गरेर स्थानीय तथा अन्तरक्याम्पस प्रतियोगितामा सहभागिता जनाउने चलन स्थापित भएको अर्का प्राध्यापक भीमप्रसाद न्यौपानेले बताए ।

क्याम्पस प्रमुख पराजुलीका अनुसार क्युएए प्रमाणपत्र कुनै गन्तव्य होइन, यो त हाम्रो नियमित गुणस्तर सुधार अभियानको एउटा महत्वपूर्ण उपलब्धि मात्र हो । ‘हामी पोखरा बहुमुखी क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संस्था बनाउने दिगो लक्ष्यमा छौँ,’ उनले भनिन् । उनले क्याम्पसको शैक्षिक वातावरण सुधार, सूचना प्रवाहको पारदर्शिता, दक्ष शिक्षक, अनुभवी कर्मचारी, नियमित पाठ्यक्रम, नविन प्रविधिको प्रयोग, सेवामुखी प्रशासन र सहकार्यमा आधारित नेतृत्व व्यवस्थापनलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
श्रोतः समाधान न्यूज
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस