पोखरा बहुमुखी क्याम्पस ‘क्युएए’ सर्टिफाइड

गुणस्तरीयता

पोखरा बहुमुखी क्याम्पस ‘क्युएए’ सर्टिफाइड

क्युएए प्रमाणपत्र कुनै गन्तव्य होइन, नियमित गुणस्तर सुधार अभियानको एउटा महत्वपूर्ण उपलब्धि मात्र होः पराजुली

PMC QAA (1)

पोखरा वडा नं. ९, शान्तिवनवाटिका स्थित पोखरा बहुमुखी क्याम्पसले ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

सामुदायिक शिक्षालाई सुलभ, सर्वसुलभ र गुणस्तरीय बनाउँदै आएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित मापदण्डअनुसार क्युुएए प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्दै क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पसले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्युएए प्रमाणपत्रले पोखरा बहुमुखी क्याम्पसलाई शैक्षिक, प्रशासनिक, भौतिक र सामाजिक सबै पक्षमा थप सुदृढ, पारदर्शी र उत्तरदायी बन्ने बाटोमा प्रेरित गरेकाे उल्लेख गरेकी छन् ।

२०४४ साल मंसिर १४ गते गते पोखरा टुँडिखेलस्थि राष्ट्रिय माविको भवनमा स्थापना गरिएको क्याम्पस अहिले शान्तिवनस्थित आफ्नै भवनमा सञ्चालित छ । त्यसअघि महेन्द्र मावि नयाँबजारको भवनमा क्याम्पस चल्दै आएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । पोखरा महानगरपालिकाले क्याम्पसलाई जग्गा उपलब्ध गराएको हो । चन्दादाताहरुबाट रकम संकलन गरी भवन निर्माण सम्पन्न गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।

क्याम्पसको पूर्वाधार, प्रशासनिक प्रणाली, शैक्षिक गुणस्तर र वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार हुँदै आएर क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्युएए प्रोसेस रिफ्लेक्सन प्रस्तुति दिँदै प्राध्यापक तथा आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक महेन्द्र रिमालले जनाए । क्युएए प्रमाणपत्र प्राप्त भएपछि यहाँ पढेका विद्यार्थीको सर्टिफिकेट विश्वभरका उत्कृष्ट विश्वविद्यालयले मान्यता दिने उनले बताए ।

स्थानीय निकाय, समाजसेवी संस्था तथा निजी क्षेत्रको सहकार्यमा क्याम्पसले सामुदायिक शिक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले बताए । क्याम्पसमा स्नातक तहमा मानविकी र व्यवस्थापन संकायको पढाइ हुन्छ । अध्ययनरत विद्यार्थीको संख्या झण्डै ५ सय रहेको क्याम्पसले शैक्षिक विस्तारको योजनाअनुसार चाँडै नै बिबिए, बिआइएम, बिआइटी लगायत कार्यक्रम थप्ने योजना क्याम्पस प्रमुख पराजुलीले सुनाइन् ।

विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले क्याम्पसले विभिन्न ननक्रेडिट कोर्स सञ्चालन गर्दै आएको जानकारी प्राध्यापक रिमालले दिए । उनकै भनाइमा पोखरा बहुमुखी क्याम्पसले शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वलाई पनि बराबरी महत्व दिँदै आएको छ ।

क्याम्पसले वातावरण संरक्षण, वन व्यवस्थापन, महिला सशक्तीकरण, साइबर सुरक्षा, मानसिक स्वास्थ्य, लैंगिक हिंसा न्यूनीकरण, लैंगिक समानता, आत्मनिर्भरता, जीवनसीप र नेतृत्व विकास जस्ता विषयमा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको रिमालले बताए । खेलकुदको क्षेत्रमा समेत क्याम्पस सक्रिय छ। विशेष गरी फुटबलमा छात्र र छात्रा दुवै समूहका लागि छुट्टाछुट्टै टोली गठन गरेर स्थानीय तथा अन्तरक्याम्पस प्रतियोगितामा सहभागिता जनाउने चलन स्थापित भएको अर्का प्राध्यापक भीमप्रसाद न्यौपानेले बताए ।

क्याम्पस प्रमुख पराजुलीका अनुसार क्युएए प्रमाणपत्र कुनै गन्तव्य होइन, यो त हाम्रो नियमित गुणस्तर सुधार अभियानको एउटा महत्वपूर्ण उपलब्धि मात्र हो । ‘हामी पोखरा बहुमुखी क्याम्पसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक संस्था बनाउने दिगो लक्ष्यमा छौँ,’ उनले भनिन् । उनले क्याम्पसको शैक्षिक वातावरण सुधार, सूचना प्रवाहको पारदर्शिता, दक्ष शिक्षक, अनुभवी कर्मचारी, नियमित पाठ्यक्रम, नविन प्रविधिको प्रयोग, सेवामुखी प्रशासन र सहकार्यमा आधारित नेतृत्व व्यवस्थापनलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

श्रोतः समाधान न्यूज

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ