चितवन । हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेललाई चिकित्सकले आइतवार बच्चा जन्माउने मिति दिएको थियो। सोही कारण आज सासु मैयाकुमारी र श्रीमान सरोज पहाडीसहित ईभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्।
उनी दोस्रो सन्तान जन्माउने अवस्थाकी थिइन्। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासु र श्रीमानका साथ चितवन हिँडेकी थिइन्।
रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेकी हुन्। उनीहरू चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो ठक्कर खाँदा गर्भको शिशुसहित तीनै जना सधैंका लागि अस्ताए।
उनीहरू तीनै जनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्त नवराज पहाडीले जानकारी दिए।
दुर्घटनामा मृत्यु भएका सातमध्ये ६ जनाको सनाखत भएको छ।
शनिबार बिहान चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएर मृत्यु भएकोमध्ये ६ जनाको सनाखत भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
दुर्घटनामा गर्भवतीसहित पाँच जना महिला र दुई पुरूषको मृत्यु भएको थियो। अन्य मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी, माइक्रो चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० का राजु थिङ छन्।
एक महिलाको शनाखत हुन बाँकी छ। उनको शव जिल्ला अस्पताल भरतपुरमा छ। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरकै एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
सम्बन्धित खबर
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा