पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

bolbam

पोखरा । श्रावण महिनमको प्रत्येक सोमबार पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यस वर्षको श्रावण महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ ।

श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ ।

यी दिनमा भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ । ‘बोलबमको नाराले, शान्ति पाउन् साराले’ भन्ने मूल मन्त्रका साथ हुने कार्यक्रम साउनका चार वटै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।

श्रावणमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गंगाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा छ ।

संयोजक खरालले भने, ‘१०८ धारा स्नान, ८ किलोमिटर पैदलयात्रा र १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनु भक्तजनको अहोभाग्य हो, जुन केदारेश्वरमा मात्र उपलब्ध छ ।’

बोलबम संयोजक खरालका अनुसार शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संयोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको छ ।

भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने बताइन्छ ।

बोलबम जलयात्रा, बाजागाजा र झाँकी तथा शिवलिङ्गमा जलार्पण, पूजाआजा तथा भजनकीर्तनलगायतमा उल्लेख्यरुपमा सहभागिता जनाउन र मनोकांक्षा पूरा गर्न उनले आग्रह गरे ।

केदारेश्वरमा संचालित केदारेश्वर वैदिक गुरुकुल आश्रमका पीठाधीश डा.चित्घन चैतन्य महाराज (लेखनाथ आचार्य) ले ८० जना बालकको शिक्षादीक्षा, आवासलगायतको व्ययभार पनि भएकोले कार्यक्रमको सफलता मूल मन्त्र हुने बताए ।

उनले केदारेश्वरमा हुने बोलबमको महत्व अत्यन्तै रहेको बताए । मन्दिरमा सिधै आएर शिव लिङ्गमा पानी, दूध चढाउनु भन्दा गाइघाटबाटै जल लिएर आएर केदारश्वरमा जलार्पण गर्नुको महत्व विशेष रहेको उनले स्पष्ट पारे ।

बोलबम हुने दिन मध्यान्हमा षोडस् उपचारसहित विशेष पूजा आराधनादेखि भजनकीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिव साधना हुने उनले बताए ।

पहिलापहिला नेपालबाट बोलबमको लागि भारत जाने गरिएकामा अहिले भारतबाट नेपाल आउन थालेको उनले बताए । उनका अनुसार २४ वर्षअघि केदारेश्वरमा शुरु गरेको बोलबम अहिले गण्डकीकै संस्कृति बनेको छ ।

पीठाधीश डा. आचार्यले बोलबम शिव साधकका लागि शक्ति जागृत गर्ने पर्व भएको बताए । उनले बोलबममा साकार र निराकारका रूपमा शिवको आराधना गरिने स्पष्ट पारे । उनले भोलेबम, भोलेबम हुँदै परिस्कृत रूपमा बोलबम भएको जानकारी दिए ।

बोलबमले पोखरासहित गण्डकी प्रदेशकै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सेती नदीको गाइघाटमा जल लिन जाने भक्तजनलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिनेछन् । साथै केदारेश्वमा ठूलो संख्यामा भक्तजन आउने हुँदा विभिन्न संघसंस्थाले पानी, मोही र प्रसादको समेत व्यवस्था गरेका छन् ।

समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराई, सचिव ओमनाथ अधिकारीलगायतले बोलबमको महत्वमाथि प्रकाश पारेका थिए ।

बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको सोमबार बोलबम पदयात्रा हुदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ