विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै वञ्चित

राजनीति

विद्या भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्नबाटै वञ्चित

Bidhya Bhandari

एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको विधान महाधिवेशनमा सहभागी हुन नपाउने भएकी छिन् ।

पार्टी मुख्यालय च्यासलमा गएराति अबेर सकिएको सचिवालय बैठकको निर्णयानुसार पूर्वराष्ट्रपति भण्डारी प्रतिनिधि बन्नबाट वञ्चित हुने भएकी हुन् । सचिवालयको बैठकले  दशौँ महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ ।

योसँगै पार्टीको केन्द्रीय कमिटीमा मनोनीत भएकाहरू पनि प्रतिनिधि बन्न नपाउने उपमहाचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार मनोनीत केन्द्रीय सदस्यहरू आयोजकका हैसियतमा मात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

एमालेको २०-२२ भदौसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन हुँदै छ । उक्त विधान महाधिवेशनमा प्रतिनिधि मनोनीत हुने आशा पूर्वराष्ट्रपति भण्डारीले राखेकी थिइन् । केही दिनअघि मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीले मनोनीत गरेर प्रतिनिधि बनाउन सक्ने बताएकी थिइन् ।

‘दशौँ महाधिवेशनमा प्रतिनिधि नरहेका नेताहरू केन्द्रीय सदस्य बन्नुभएको छ । जनवर्गीय संगठनको निर्वाचन भएर नयाँ नेतृत्व आएको छ । त्यसैले विधान महाधिवेशनको प्रतिनिधिबारे पार्टीले निर्णय गर्ला । उनीहरूलाई प्रतिनिधि बनाउनुपर्ने हुँदा मेरो विषयमा के गर्ने भन्ने निर्णय पनि होला,’ भण्डारीले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

नेकपा एस छोडेर एमालेमा फर्किएका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेलगातय नेताहरू पनि विधान महाधिवेशनको प्रतिनिधि हुने छैनन् । उनीहरू आयोजकका हैसियतमा विधान महाधिवेशनमा सहभागी हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

सचिवालयको बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालसम्बन्धी व्यवस्था हटाउने निर्णय पनि गरेको छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने प्रस्ताव पेस गरेका थिए । बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताए ।

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन पाउने/नपाउने भन्ने विषयमा विवाद थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी एउटै पदमा उम्मेदवार हुन नपाउने व्यवस्था कायम हुनुपर्ने अडान राखेका थिए । तर, बैठकले बहुमतका आधारमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था हटाउने निर्णय लिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ