गण्डकीका मुख्यमन्त्री पाण्डे चीन जाँदै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन जाँदै

कोरला नाका र पोखरा विमानस्थल सञ्चालनका लागि पहल गर्न व्यवसायीको सुझाव

surendra-raj

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साउन ६ गते नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनको तिब्बत प्रस्थान गर्दैछन्। पर्यटन व्यवसायीहरूले यस भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउन आग्रह गरेका छन्।

उनीहरूले कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्णरूपमा सञ्चालन गर्न र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा उडान सुरु गराउन विशेष पहल गर्न सुझाव दिएका छन्। केरुङजस्ता नाकाहरू बाढीका कारण बारम्बार अवरुद्ध भइरहेकाले, पोखराबाट सबैभन्दा नजिकको कोरला नाका उपयुक्त विकल्प हुने उनीहरूको भनाइ छ।

पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा, मुस्ताङस्थित कोरला नाकामा अब सुरक्षा चुनौती नरहेको र पूर्वाधारमा सुधार भएकाले नाका बन्द गरिरहन कुनै औचित्य नरहेको उल्लेख छ। परिषद् अध्यक्ष तारानाथ पहारीले पोखरालाई ट्रान्जिट बनाएर मुक्तिनाथ, दामोदर कुण्ड हुँदै कैलाश मानसरोवरसम्मको धार्मिक मार्ग खोल्न सके गण्डकीको पर्यटनमा कायापलट आउने विश्वास व्यक्त गरे।

व्यवसायीहरूले पोखरा विमानस्थलको पूर्ण सञ्चालनमा देखिएको ढिलाइ चिर्न उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताए। चीनले मानसरोवरनजिकको अली विमानस्थललाई स्तरोन्नति गरिरहेकाले पोखराबाट त्यहाँ सिधा उडानकाे व्यवस्था गर्न माग गरिएको छ। चीनका प्रमुख सहरहरूसँग सिधा हवाई सम्पर्कले गण्डकी प्रदेशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनीहरूको भनाइ छ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले ‘भिजिट नेपाल २०२५ इन चाइना’ सफल पार्न चिनियाँ सहरहरूमा प्रभावकारी बजारीकरण आवश्यक भएको बताए।

मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूको सुझावप्रति सकारात्मक प्रतिक्रिया दिँदै भ्रमणका मुख्य चार एजेन्डा रहेको जनाए—कोरला नाका सञ्चालन, पोखरा विमानस्थल सिधा उडान, व्यापार सहजीकरण, र द्विपक्षीय साझेदारी सुदृढीकरण।

“केरुङ र तातोपानीमा समस्या देखिएपछि चीनसँगको पहुँच खुम्चिएको छ,” उनले भने, “कोरला नाका खोल्नु अब आवश्यकता र बाध्यता दुवै हो।” उनले नेपालतर्फ अध्यागमन, भन्सार लगायत पूर्वाधार निर्माणमा चीनको सहयोग पनि माग्ने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ