पोखरा । कास्की प्रशासनले यहाँका पर्यटकीय गाउँहरु घान्द्रुक, लान्द्रुक, सिक्लेस र ताङतिङ जाने सडकमा रातको समय सवारी साधन चलाउन रोक लगाएको छ।
बर्षासँग आउने बाढी र पहिरोको जोखिम भएकाले रातीको समय उक्त गन्तव्यमा सवारी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उक्त गन्तव्यमा जाने मोटरबाटो बाढी र पहिरोको जोखिम भएकाले रातको समय सवारी चलाउन रोक लगाएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
उनका अनुसार कास्कीको विरेठाँटीदेखि उल्लेरी, घान्द्रुक, लुम्लेदेखि लान्द्रुक, पोखराको काहुँखोलादेखि सिक्लेस र ताङतिङ जाने बाटो निगरानीमा राखिएको छ। यी सडकबाट जाने सवारी साधन गन्तव्यका लागि साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ। पर्यटकीय गाउँहरु घान्द्रुक, सिक्लेस, ताङतिङ र लान्द्रुकबाट पोखरा वा अन्य गन्तव्यमा जाने सवारी पनि साँझ ५ बजेभित्र छुटिसक्नुपर्ने प्रशासनले जनाएको छ।
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर, घोरेपानी पुनहिल, मुल्डे भ्यु हुँदै खोप्रा र हिडनलेक जाने पदमार्गको प्रस्थानविन्दु हो भने सिक्लेसबाट कफुचे हिमताल र कोरी यात्रा गर्ने प्रस्थान विन्दु हो। अहिले मनसुनका बेलामा पनि पदमार्गमा पर्यटकहरु जाने गरेका छन्।
ताङतिङबाट क्रपुडाँडा लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ। पर्यटक एवं पदयात्रीको सुरक्षाका लागि रातको समयमा सवारी साधन चलाउन रोक लगाइएको हो। कास्कीका जिल्ला समन्वय समितिदेखि सुरक्षा निकाय, यातायात व्यवसायी लगायतसँग बैठक राखेर ७ देखि १५ दिनका लागि यी गन्तव्यमा जाने सडकमा राती सवारी चलाउन रोक लगाएको कास्कीका सहायक सिडिओ शिव लम्सालले बताए।
मनसुनमा आउने बाढी र पहिरोले जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्ने भन्दै सिडिओ शर्माले डोजरसहित इञ्जिनियरलाई अलर्ट राख्न सडक डिभिजन कार्यालय पोखरा र हेभी इक्विपमेन्ट डिभिजन पोखरालाई निर्देशन दिएकी छिन्।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक आयोजनालाई कोत्रे, लामेआहाल, तालचोक र विजयपुरमा डोजर र इञ्जिनियरसहित अलर्ट अवस्थामा राख्न निर्देशन दिइएको छ भने पोखरा–बागलुङ सडक, सिद्धार्थ राजमार्गको छोरेपाटन कुविण्डे खण्ड र बेगनासताल–भोर्लेटार सडकमा पनि डोजर र इञ्जिनियरलाई अलर्ट अवस्थामा राख्न सिडिओ शर्माले निर्देशन दिएकी छिन्।
उनका अनुसार कास्कीभर बाढी, पहिरो र डुवानको समस्या आउँदा सुरक्षाका लागि १७ वटा स्थान पहिचान गरिएको छ । जोखिम पहिचान गरेर सुरक्षाको उपाय खोजी गरिएको उनले बताइन्।
‘हामीले जोखिमयुक्त ठाउँमा रातको समयमा सवारी चलाउन बन्द गरेका छौ । जोखिम आउँदा सवारी साधन रोक्न १७ वटा ठाउँ पहिचान गरेका छौं,’ उनले भनिन्, ‘सडक आयोजना र कार्यालयहरुलाई सम्बन्धित ठाउँमा डोजर अपरेटर र इञ्जिनियरको नाम र नम्बर सार्वजनिक गरेर अलर्ट अवस्थामा राखेका छौ।’
उनले यात्रा गर्दा मौमसको अवस्था बुझेर यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरेकी छिन्।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर