प्रहरीले अब आरोपीहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने

प्रहरीले अब आरोपीहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने

'पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन'

Nepal-Police-Headquarter

काठमाडौँ । अब विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नहुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार (५ साउन) आफू मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको हो ।

अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । उनले भने, “कुनै कसुरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौँ ।”

यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।

घटनाका आरोपी सार्वजनिक गर्नै पर्ने अवस्था आएमा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृतिपछि मात्र सार्वजनिक गर्न सकिने जानकारी उनले दिए ।

नेपाल प्रहरीको साइबर ब्युरोले भने यसअघि देखि नै आरोपीको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने अभ्यास अपनाउँदै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ