स्याङ्जा प्रहरीको वार्षिक समीक्षा: अपराध नियन्त्रणदेखि समुदाय प्रहरी साझेदारीसम्म

स्याङ्जा प्रहरीको वार्षिक समीक्षा: अपराध नियन्त्रणदेखि समुदाय प्रहरी साझेदारीसम्म

Sp dadhiram neupanee

नयाँ आर्थिक वर्षको प्रारम्भसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०८१/०८२ को उपलब्धी तथा चालू वर्षका कार्यप्रगति सार्वजनिक गरेको छ ।

सम्मेलनमा अपराध नियन्त्रण, जनचेतना, सुरक्षासम्बन्धी गतिविधि, राजस्व संकलनमा हासिल उपलब्धी, र कानूनी कार्यान्वयनका विविध पक्षमा प्रहरीको सक्रियता र सफलता प्रस्तुत गरिएको थियो ।

फरार अपराधीहरूलाई पक्राउ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै एसपी न्यौपानेले गत आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार रहेका ११८ जनालाई पक्राउ गरिएको बताए । तीमध्ये ९१ पुरुष र २७ महिला रहेका छन्, जसले कूल ४२ वर्ष १ महिना २९ दिन कैद सजाय भोग्नु पर्नेछ भने १ करोड ८७ लाख ९९ हजार ८८५ रुपैयाँ जरिवाना तोकिएको छ । चालू आर्थिक वर्षको पहिलो ११ दिनमै १९ जना फरार अभियुक्तहरू(१२ पुरुष, ७ महिला) पक्राउ परेका छन् । उनीहरुलाई ७ वर्ष ४ महिना ३ दिन कैद र ८ लाख ११ हजार ७३० रुपैयाँ जरिवाना तोकिएको छ ।

पछिल्लो वर्ष २७९ वटा मुद्दा दर्ता भएका थिए, जसमा १४९ जना पक्राउ समेत परिसकेका छन् । यस्तै, पछिल्लो वर्ष आत्महत्यासम्बन्धी ५३ मुद्दा दर्ता भएकोमा पुतलीबजार नगरपालिकामा सबैभन्दा धेरै १२ वटा रहेका छन् । अन्य गम्भीर मुद्दाहरूमा ज्यान सम्बन्धी ४७, जबरजस्ती करणी १५, लागू औषध १४, र फुटकर ज्यान १९ रहेका छन् ।

आत्महत्याका घटनामा अघिल्ला वर्षको तुलनामा क्रमिक गिरावट देखिएको र यसको रोकथामका लागि समुदायमास्तरमै तनाव व्यवस्थापन तालिम तथा सचेतनामूलक कार्यक्रम चलाइएको प्रहरीको भनाइ छ ।

यस्तै, बर्षातको समयमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने २५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई ३ लाख ६० हजार राजस्व संकलन गरिएको थियो । काठ तस्करीसम्बन्धी मुद्दामा १६८.६३ क्यूफिट काठ नियन्त्रणमा लिइएको छ भने ५३ लाखभन्दा बढी मूल्यका अवैध लत्ताकपडा, खाद्य तथा कस्मेटिक वस्तुहरु नियन्त्रणमा लिइएका छन् ।

गाँजा फडानी अभियान अन्तर्गत गत आर्थिक वर्षमा १०२ रोपनी क्षेत्रफलमा २१,५५३ गाँजाका बोट नष्ट गरिए भने चालू आवमा ५५ रोपनीमा १२,६१६ बोट नष्ट गरिएका छन् । अवैध लागू औषधसहित १८ जना पक्राउ परेका छन् जसबाट ठूलो मात्रामा डाइजेपाम, फेनेरेगन, नुफिन एम्पुल र नाइट्राभेट ट्याबलेट बरामद गरिएको छ ।

गत आर्थिक वर्षमा ट्राफिक चेकजाँचका क्रममा १९,२६० सवारीसाधनलाई कारवाही गरी १ करोड ४१ लाख राजस्व संकलन गरिएको छ । चालू आवमा ३१० सवारीसाधनबाट २ लाख २४ हजार राजस्व संकलन गरिएको छ ।

गत वर्ष समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २,२९७ वटा कार्यक्रमबाट ६२,६३५ नागरिक लाभान्वित भएका छन् भने चालू आवमा ९८ कार्यक्रममा १,४२१ जना सहभागी भएका छन् । प्रहरीको गस्ती, हराएका व्यक्तिको खोजी, घरेलु मदिरा नियन्त्रण, जडिबुटी संकलन नियन्त्रण र मोबाइल तथा अन्य हराएका सामान फेला पार्ने कार्यमा समेत प्रहरीको सक्रियता देखिएको छ ।

स्याङ्जा प्रहरी प्रमुख एसपी न्यौपानेले फरार अभियुक्त पक्राउ, लागू औषध नियन्त्रण, अवैध उत्खननमा कारबाहीलगायतका कामलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एसपी न्यौपानेले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रहरी, पत्रकार, र समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देलसहित जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ