स्याङ्जाको फेदीखोला गाउँपालिकाले शुक्रबार वडा नम्बर –१ रामकोटमा प्रथम राष्ट्रिय कोदो दिवस २०८२ विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । फेदीखोलाले उक्त कार्यक्रममार्फत कोदोको महत्व र बहुपयोगिताबारे जनचेतना फैलाएको छ ।
‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित आयोजित कार्यक्रममा कोदोका परिकार प्रदर्शनी, अन्तक्र्रिया र कोदो रोपाइँ गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले कोदो दिवसलाई व्यवहारमा उतार्ने गरी नीति ल्याइएको बताए । उनका अनुसार शुक्रबारदेखि पालिकाभित्रका सबै विद्यालय र कार्यालयमा हप्तामा दुई दिन कोदोको परिकार अनिवार्य गरिएको छ ।
‘होमस्टे, सेमिनार, चमेना गृहमा पनि कोदोका परिकारलाई प्राथमिकता दिन थालिएको छ, यसले कोदोको उत्पादन, प्रयोग र बजार विस्तारमा टेवा पुग्नेछ,’ अध्यक्ष सुवेदीले भने ।
उनले फेदीखोलामा कोदोको उपयोग बढेमा एक वर्षमै ८० लाख बराबरको स्थानीय उत्पादनको खपत हुने दाबी गरे । त्यसका लागि बाँझो जमिन प्रयोग गरिने योजना समेत रहेको उनले बताए ।
प्रथम राष्ट्रिय कोदो दिवस २०८२ का अवसरमा कोदाबाट बनेका २६ परिकार प्रदर्शन गरिएका थिए । प्रदर्शनीमा तोङ्बा, छ्याङ, तिनपाने, खोले, सुप, तावा रोटी, कपकेक, सुत्केरी मसला, नमकिन, पुरी, नरिवल लड्डु, सेफाली, खुर्मा, जेरी, कसार, पुवा, पकौडा, फुरौला, बिस्कुट, मम, ढिडो, सेल रोटी, चट्नी, दाम्ले मिठाई र तोक्बी (चाइनीज परिकार) समावेश थिए ।
फेदीखोला गाउँपालिकाभित्रका १९ वटा विद्यालयले शुक्रबारको दिवा खाजामा कोदोको परिकार खाएर पालिकाको निर्णयमा समर्थन जनाएका छन् । पालिकाले विसं. २०७७ देखि कक्षा ६ को स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ मा ‘कोदोः बहुपयोगी खाद्यान्न’ शीर्षक समेटेर विद्यार्थीलाई सचेत गराउँदै आएको छ ।
कोदो परम्परागत, पोषणयुक्त र जलवायु प्रतिकूल अवस्थामासमेत उत्पादन हुने अन्न भएको भन्दै गाउँपालिकाले यसको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । पालिकाले कोदो प्रवर्द्धनबाट खाद्य सुरक्षा, कृषकको आम्दानी वृद्धि, स्थानीय अर्थतन्त्र सुदृढ र परम्परागत कृषि प्रणालीको पुनर्जीवन हुने विश्वास लिएको छ ।
यस्ता नीतिगत निर्णय र व्यावहारिक कार्यान्वयनले कोदोलाई पुनर्स्थापित गर्दै फेदीखोलालाई नमुनाका साथमा कृषि आत्मनिर्भरता र पोषण सुरक्षाको दृष्टिले उदाहरणीय बनाउँदै लगेको छ ।
सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु