आज गाईजात्रा, परिवारका दिवंगत सदस्यको सम्झना गरिँदै

धर्म संस्कृति

आज गाईजात्रा, परिवारका दिवंगत सदस्यको सम्झना गरिँदै

काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

gaijatra

काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले गाईजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा पर्व मनाइन्छ।

ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ-आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए। सोही आदेश अनुसार शुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ।

यो दिन पाटनमा देखाइने सत्य युगको धान,चामलको नमूना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ। गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफ्ना आफन्तको सम्झनामा नाचगान तथा रामायणको करुण रसका गीतहरु गाउँदै, गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्य अन्न र पैसा दान गर्ने परम्परा रहेको छ।

यसै प्रचलन अनुसार आज दिनभर मानिसलाई गाईको स्वरूप बनाएर बजार परिक्रमा गराउने चलन छ। यस्तो गर्नाले वर्षभरी मृत्यु भएका आफ्ना आफन्तहरु गाईको पुच्छर समाई वैतर्णी पार गर्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ। भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई आजकै दिन विसर्जन गरिने प्रचलन रहेको छ।

गाईजात्राका अवसरमा नेपाल सरकारले काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिएको छ। यस्तै प्रदेश सरकारले पनि बागमतीभर सार्वजनिक बिदा दिएको छ।

पछिल्लो समयमा गाईजात्राको अवसर पारेर समाजमा भएका विद्यमान विकृति र विसङ्गतीलाई उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। गाईजात्रा पर्व काठमाडौँ उपत्यका लगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ।‌

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ