लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता

लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता

Dudhpokhari

गोसाइँकुण्डमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्।

बेपत्ता हुने व्यक्ति लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी र स्थानीयका अनुसार गुरुङ शनिबार बिहान साथीसँग दूधपोखरी पुगेका थिए। जनैपूर्णिमामा नुहाउने जात्रामा सहभागी भएका उनी बिहान करिब ८ बजेतिर पोखरीको छेउबाट पौडी खेल्दै केही टाढा पुगेका र त्यसपछि हराएको उनका साथीहरूले बताएका छन्।

उनीसहित नौ जना साथीहरू शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए। स्थानीयवासिन्दा समेत रहेका क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार पौडी खेल्ने क्रममा गुरुङलाई उद्धार गर्ने प्रयास भए पनि सफल हुन नसकेपछि साथीहरूले नजिकैको टेलिफोन सिग्नल आउने स्थानमा पुगेर घटनाबारे जानकारी दिएका थिए।

उपाध्यक्ष गुरुङले स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ हिँडेको र साँझसम्म थुर्जु पुगेर सोमबार बिहान पोखरी पुग्ने योजना रहेको बताइन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए। उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू रहेका छन्।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो घटनास्थल पुग्ने प्रयास भइरहेको छ।

 रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा पनि गत साउन ११ गते  स्नान गर्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको थियो । मामा फुपुका छोराहरू मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकालको मृत्यु भएको थियो ।

  • लमजुङ खबरबाट ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ