सरकारले बनाएको आयोगले प्रष्ट भन्यो: ‘भदौ २४ को घटना पूर्ण फौजदारी अपराध हो’

अपराध

सरकारले बनाएको आयोगले प्रष्ट भन्यो: ‘भदौ २४ को घटना पूर्ण फौजदारी अपराध हो’

कानुनबमोजिम प्रहरीलाई नै अनुसन्धानको जिम्मा दिइएको छ: आयोग अध्यक्ष कार्की

singhdurbar-aaglagi

जेन–जी आन्दोलनका क्रममा २३ र २४ भदौमा भएका घटनाबारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले २४ गतेको घटनालाई पूर्ण फौजदारी अपराध भएको बताएका छन् ।

उनले २३ र २४ भदौका घटना स्वरूपमा स्पष्ट भिन्नता रहेको बताउँदै २४ गतेको घटना योजनाबद्ध रूपमा भएको आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गरिरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष कार्कीले २३ भदौको घटना स्वतःस्फूर्त आन्दोलन भए पनि २४ भदौको घटना आन्दोलन नभई योजनाबद्ध रुपमा भएको आगजनी, लुटपाट र डकैती भएको दाबी गरे । ‘२३ गते भएको घटना आन्दोलनको भाग थियो तर २४ गते भएको घटना आगजनी, लुटपाट र डकैतीजस्ता आपराधिक कार्य हुन्,’ उनले भने, ‘आयोगले त्यसलाई आन्दोलन नभई फौजदारी अपराधका रूपमा हेरेको छ ।’ अध्यक्ष कार्कीले २४ गते भएको आगजनी, लुटपाट, सरकारी र निजी सम्पतिमा भएको क्षति सबैले देखेको बताए । उनले आयोगले यो विषयमा तथ्य, प्रमाण र साक्षीका आधारमा छानबिन गरिरहेको स्पष्ट पारे ।

‘२४ भदौमा सरकारी तथा निजी सम्पतिमा भएको क्षति, आगजनी र लुटपाटजस्ता गतिविधि योजनाबद्ध रूपमा भएका प्रमाणहरू संकलन भइरहेको छ । त्यो कुनै पनि अर्थमा आन्दोलन होइन,’ उनले भने, ‘२४ गतेको घटना योजनाबद्ध रूपमा भएको अपराध हो र त्यसका तथ्य र साक्षीका आधारमा निष्पक्ष छानबिन भइरहेको छ ।’

अध्यक्ष कार्कीले घटनासँग सम्बन्धित कुनै पनि प्रमाण, तस्बिर वा जानकारी भएकाले आयोगलाई उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेका छन् । उनले आयोगले सबै विवरण संकलन गरी न्यायसंगत र दिगो समाधानका लागि सिफारिस गर्ने दावी गरे ।

अध्यक्ष कार्कीका अनुसार आयोगले स्वतन्त्र रूपमा फौजदारी अनुसन्धान नगर्ने तर कानुनबमोजिम प्रहरीलाई नै अनुसन्धानको जिम्मा दिएको जानकारी दिए । उनले फौजदारी अपराधको अनुसन्धान गर्ने निकाय नेपाल प्रहरी भएको उल्लेख गर्दै २४ गतेको घटनाको बिषयमा प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न अनुमति दिइसकेको दाबी गरे । ‘फौजदारी अपराधको अनुसन्धान गर्ने निकाय नेपाल प्रहरी हो । त्यसैले आयोगले प्रहरीलाई कानुनी अधिकारका आधारमा अनुसन्धान गर्न अनुमति दिएको छ,’ उनले भने ।

उनका अनुसार आयोगको दायित्व घटनाको समग्र छानबिन, प्रमाण संकलन र दोषीमाथि कानुनी कारबाहीका लागि सिफारिस गर्ने हो । ‘हामी कसैलाई हेरेर होइन, तथ्यका आधारमा निष्पक्ष रूपमा काम गरिरहेका छौँ,’ अध्यक्ष कार्कीले भने, ‘आयोगको उद्देश्य दोषी खोज्नु होइन, न्याय सुनिश्चित गर्नु हो ।’

अध्यक्ष कार्कीले आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका विषयमा विद्यमान कानुनी व्यवस्था पर्याप्त नभएको बताएका छन् । उनले यस्तो अवस्थाको सामना गर्न सरकारलाई विशेष अध्यादेश ल्याउन सुझाव दिएको जानकारी दिए । ‘जेलबाट भागेका कैदीमाथि कारबाही गर्ने कानुनी व्यवस्था अहिले सीमित छ,’ उनले भने, ’त्यसलाई परिमार्जन गर्न वा अस्थायी रूपमा अध्यादेश ल्याउन आयोगले सरकारलाई सिफारिस गरेको छ ।’

उनले आन्दोलनका नाममा हुने तोडफोड, आगजनी र हिंसात्मक कार्य कानुनविपरीत हुने उल्लेख गर्दै नागरिकलाई संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गरे । ‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन, अपराधी हो भनेर आफैंले काट्न–मार्न पनि पाइँदैन,’ उनले भने, ‘कानुन छ, त्यसैअनुसार कारबाही हुनुपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ