काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले पार्टी एकताका नाममा भइरहेको वर्तमान प्रक्रियाले माओवादी आन्दोलनको पहिचान मेटिने बताएका छन्। यसले पार्टीलाई विघटन र वैचारिक विचलनतर्फ लैजाने उनको भनाइ थियो।
पार्टी एकताको विषयमा छलफल गर्न शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्नो असहमति राख्दै उनी बैठकबाट बाहिरिए ।
बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले भने, ‘यो पार्टी शहीद, बेपत्ता र घाइते योद्धाहरूको त्याग र बलिदानको जगमा उभिएको हो। तर अहिले उहाँहरूको सपना र आन्दोलनको विचारलाई नै भत्काउने गरी एकताको प्रयास भइरहेको छ। यसले माओवादी आन्दोलनको पहिचान मेटिन्छ।’
उनले नेतृत्वले महाधिवेशनमार्फत विधि र प्रक्रियासम्मत ढंगले अघि बढ्नुको साटो मनोनीत गरेर आफ्नो वरिपरि ‘सुरक्षा घेरा’ बनाउन खोजेको आरोप लगाए।
‘नेतृत्व हस्तान्तरण र महाधिवेशनमार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरालाई पूर्णतः अस्वीकार गर्दै फेरि पनि मनोनीत गरेर आफ्नो स्वार्थ पूरा गर्ने जुन प्रयत्न भइरहेको छ, यसले पार्टीलाई अगाडि बढाउन सक्दैन,’ शर्माले भने।
उनले यो तरिकाको एकताले पार्टीलाई वैचारिक विचलन र विघटनतर्फ लैजाने निश्चित भएकोले आफूले बैठकमा असहमति राखेर बाहिरिएको स्पष्ट पारे।
नेता शर्माले समग्र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न बृहत् अभियान चलाउनुपर्नेमा जोड दिए।
‘आम रूपमा समग्र कम्युनिस्ट र समाजवादी आन्दोलनलाई एकीकृत गर्ने गरी अभियान चलाएमा केही महिनाभित्रै नयाँ निष्कर्षमा पुग्न सकिन्छ, अहिले त्यो सम्भावना छ,’ उनले भने, ‘तर यो तरिकाको एकता हामीलाई स्वीकार्य छैन।’
प्रचण्ड भन्छन्ः जनार्दन शर्माको शैली कसैलाई मन परेको छैन
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले पार्टीमा सबै जना एकजुट भएको दाबी गरेका छन्। उनले बैठक चल्दाचल्दै उठेर हिंडेका नेता जनार्दन शर्माको शैलीलाई अराजकको संज्ञा दिए।
त्यसका बावजुद जनार्दन शर्मा केन्द्रीय कमिटी बैठकसम्म एक हुने उनको दाबी छ। ‘पार्टीमा सबै एकजुट भएका छन्। केन्द्रीय कमिटी बैठकसम्म जनार्दन पनि एक हुनपर्छ। हुन्छ भन्ने हामीलाई विश्वास छ। बैठकबाट उहाँ उठेर हिंड्नुभयो। त्यो शैली उहाँको नराम्रो हो। त्यो कसैलाई मन पर्ने शैली होइन,’ उनले भने।
संयोजक प्रचण्डले महाधिवेशन पनि निर्धारित मितिमै हुने दाबी गरे। ‘महाधिवेशन सार्ने आरोप गलत छ। अराजक छ,’ उनले भने। नेता शर्माले बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकता रोक्नुपर्ने माग गरेका थिए।
महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा शर्माले एकता प्रयासले माओवादी आन्दोलनको पहिचान मेटिने बताएका थिए। पार्टी आन्दोलनमा शहीद, बेपत्ता, घाइतेको सपना मुख्य आधार भएको भन्दै त्यसलाई छाड्ने र कुण्ठित गर्ने गरि भएको एकता प्रयासले माओवादी आन्दोलन बिसर्जनतर्फ जाने उनको भनाइ छ।
महाधिवेशनबाट विधिसम्मत ढंगबाट नेतृत्व हस्तान्तरणमा जानुपर्नेमा त्यसलाई अस्वीकार गर्दै एकताका नाममा मनोनीत गरेर आफ्ना वरिपरि सुरक्षा घेरा बनाउने प्रयत्न भइरहेको उनले आरोप लगाएका थिए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’