काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ र रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठबीच कुरा मिल्न सकेन ।
कुलमानकै निवासमा मंगलबार बिहान दुई पटक भएको वार्तामा कुरा नमिलेपछि उनीहरू छुट्टिएका छन्। सहकार्यबारे भएको छलफल निचोडमा नपुगेपछि उनीहरूले अलग यात्रा गर्न लागेका छन् ।
कुलमानले आफू उज्यालो नेपाल पार्टी दर्ता गर्ने तयारीमा रहेकाले त्यहीँ जोडिन सुदनसहितलाई आग्रह गरेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि सहकार्य नहुने भएको छ ।
कुलमान जेन-जीलाई अपनत्व हुने दल बनाउन तयार नभएकाले तत्काल मिल्ने सम्भावना अब छैन । पार्टीको नाम र संयोजकका सन्दर्भमा कुलमान लचिलो भएका भए कुरा मिल्ने बताइन्छ ।
सुदनले मंगलबार बिहान पनि कुलमानलाई अहिले सहिद परिवारका सदस्यलाई नेता बनाएर जाने प्रस्ताव गरेका थिए । भविष्यमा कुलमानले चाहेकै नेतालाई अघि बढाउने कुरा सुदनले त्यहाँ राखे। तर कुलमानले साथीहरू तयार नभएको भन्दै पन्छिएको स्रोतले दाबी गरेको छ।
कुलमानले खोल्ने पार्टी तत्काललाई पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्ने छन् । ऊर्जामन्त्रीबाट बिदा भएपछि उक्त पार्टी आफैंले हाँक्ने तयारी कुलमानले गरेको स्रोतको दाबी छ ।
कुलमानसँग कुरा नमिलेपछि अब सुदनले अन्य विकल्प खोजेका छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठसँग सहकार्य गर्ने र त्यहाँ पनि भनेझैँ नभए छुट्टै समूहका रूपमा अघि बढ्ने बताइन्छ ।
कुलमानसँग अगाढि बढ्ने मनसायका साथ सुदन गुरुङको ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकसहितका जेनजी अगुवा ऊर्जामन्त्री कुलमान घिसिङले खोल्ने दलमा सहभागी हुने भएका थिए ।
बागमती प्रदेशकी संयोजक अफसाना बानु, मधेसका शिव यादव, गण्डकीबाट प्रदीप पाण्डे, लुम्बिनीका आदित्य अर्याल, सुदूरपश्चिमबाट खेमराज साउद र कर्णालीबाट प्रकाश खड्का उक्त दलमा संलग्न हुने भनेकामा अब कुलमान एक्लै अघि बढ्ने भएपछि सुदनका टीमका सदस्यहरू कुलमानका पार्टीमा नरहने बताइन्छ । उनीहरूलाई केन्द्रीय सदस्य बनाइने तयारी थियो ।
यसअघि रवि लामिछाने नेतृत्व रास्वपामा प्रवेश गरी एकै पार्टी बनाउने छलफल पनि सार्थक भएन । कुलमानले कार्यकारी सभापति माग गरेकाले रास्वपासँग यात्रा अघि बढ्ने नसकेका बताइन्छ ।
सुमना श्रेष्ठ, सागर ढकालसहितले नेपाल जनसेवा पार्टी बनाउने तयारी गरेका छन् । सुदनले जेन-जी सहिद परिवारका सदस्य भोगविक्रम थापालाई नेतृत्वमा अगाडि सार्न सुझाएका छन् । उनीहरूसँग बालेन पनि मिलेर जाने भएका छन् ।
‘कुनै परिवर्तन नभए नेपाल जनसेवा पार्टी नाम रहन्छ । नेतृत्वमा भोजविक्रम थापा रहन्छन्,’ सुदनका सहयोगीले भने, ‘भोजविक्रम थापाका भतिजाले जेन-जी आन्दोलनमा ज्यान गुमाउनु भएको थियो ।’
बालेननिकट नेताका अनुसार तत्काललाई तीनजनाबीच सहयात्रा हुने भएको छ। उनीहरूका साथमा कलाकार निश्चल बस्नेतको टिम र रास्वपा नेता गणेश कार्कीको टिम पनि जोडिनेछ ।
यी दुवै समूहले सम्भवत: मंगलबार नै दल दर्ता गराउने छन् । त्यसो नभए बिहीबारसम्म दुवै दल दर्ता गरिसक्ने स्रोतको दाबी छ ।
काठमाडौं महानगरका मेयर बालेन शाह भने तत्काल जनसेवा पार्टीमा नदेखिने बताइन्छ । बालेनले काठमाडौंमा ५ वर्ष सेवा गर्ने वाचा गरेकाले उनले पछाडिबाटै साथ दिने बताइन्छ ।
पार्टीका लागि तयार नभए सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने मनसाय बनाएका छन्। उनले आफू भने राजनीतिक पार्टीमा सक्रिय हुनुभन्दा पनि नागरिक दबाब समूह (सिभिलियन फोर्स) बनाउन लाग्ने बताएका छन्। तर उनले सिभिलियन फोर्सको संरचनाबारे खुलेर बोलेनन्।
जेनजीको माग पूरा नभएसम्म चुनावमा जानु हुँदैन भन्ने अडानमा उनी यथावत छन् । ‘ठूलो सिभिलियन फोर्स तयार पार्छौं। नागरिकको युनिफिकेसन फोर्स… जुन सरकार आए पनि दबाब दिने,’ गुरूङले भने, ‘जुनै शक्ति आए पनि। अल्टनेटिभ पावर जस्तो वाच डग हुनुपर्ने रहेछ। यो प्यारालल फोर्स रहन्छ।’
उनले राजनीतिक दलमा लागेका व्यक्तिहरूले देशभन्दा पनि दलका बारेमा सोच्न भएकाले यस्तो शक्ति आवश्यक रहेको बताए।
‘जनताले देशको बारेमा सोच्ने रहेछ। पार्टीमा लागेपछि पार्टीबारे मात्र सोच्ने रहेछ,’ गुरूङले भने, ‘म दल खोल्ने, दल मिलाउनेमा लाग्दिनँ। म त पहिलेदेखि नै नन–पोलिटकल मान्छे हो।’
उनले वर्तमान सरकार गठनमा आफ्नो भूमिका रहेको दाबी गर्दै त्यसबेला आफूले जनचाहना अनुसार भूमिका निर्वाह गरेको उल्लेख गरे।
‘त्यतिबेला सैनिक शासन आउँछ भनेर सबै जना डराए। मलाई १८ वटा जेनजी समूहले गएर सेनासँग र राष्ट्रपति भवनमा कुरा गर्न पठाएको हो,’ सुदनले भने, ‘अहिलेको प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले दुई दिनसम्म सरकार बनाउन नसकेपछि मलाई डाकेको हो। तर अहिले रंगीचंगी जेनजी आएका छन्।’
गुरूङले जनताले पठाए मात्र आफू अघि बढ्ने बताए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’