नेपाली कांग्रेसका नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको भन्दै केन्द्रीय समिति बैठकमा चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकमा बोल्नेमध्ये अधिकत्तर पूर्वपदाधिकारीले मुलुकलाई निकास दिने कांग्रेसमा बृहत्तर एकता आवश्यक भए पनि पार्टी विभाजनतर्फ उन्मुख भएको भन्दै चिन्ता जनाएका हुन्।
पार्टीलाई विभाजन हुनबाट रोकेर अहिलेको संक्रमणबाट देशलाई निकास दिन निर्वाचनबाहेक अर्को विकल्प नभएको पनि उनीहरूले बताए।
कांग्रेस बैठक झन्डै एक महिनादेखि जारी छ। पार्टीको १५औं महाधिवेशन फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि कि पछि गर्ने भन्ने विवादमै बैठक अल्झिएको छ।
निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन हुने अवस्था नभए विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएको पनि महिना दिन पुग्दैछ।
विधानको दफा १७ को २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा वा केन्द्रीय समितिले निर्णय गरेमा विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ।
सोहीअनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग भएको हो। विधानअनुसार माग भएको विशेष महाधिवेशनलाई नर्कान पनि नसकिने र त्यसलाई प्रक्रियामा लैजाँदा पार्टी विभाजनतर्फ जाने तर्क गर्दै नेताहरूले विशेष महाधिवेशन पक्षधरको भावनालाई समेत समेटेर सर्वसम्मत समाधान खोज्न नेतृत्व पंक्तिलाई सुझाएका छन्।
केन्द्रीय समितिले सर्वसहमतिबाट विशेष महाधिवेशनको पक्षमा निर्णय लिने अवस्था छैन। र, अहिलेको अवस्थामा पक्ष र विपक्षमा उभिँदा पार्टीलाई गम्भीर क्षति पुग्ने तर्क नेताहरूको तर्क छ।
पूर्वमहामन्त्री शशांक कोइरालाले महाधिवेशनको पक्ष वा विपक्षमा बाँडिएर द्वन्द्व बढाउनेभन्दा केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने तर्क गरे। राष्ट्र र पार्टी विषम अवस्थामा रहेको जनाउँदै उनले सबै नेता हठ, आरोपप्रत्यारोप र आवेगभन्दा माथि उठेर सहमतिमा आउनुपर्ने बताए।
पूर्वउपसभापति विमलेन्द्र निधिले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन नभए व्यवस्था नै संकटमा पर्ने औंल्याए। उनले देश र लोकतान्त्रिक व्यवस्थाका लागि पार्टी महाधिवेशनभन्दा प्रतिनिधिसभा सदस्य निर्वाचन महŒवपूर्ण भएको बताए।
निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने तर्क राखेका निधिलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘देश, व्यवस्था र कांग्रेस खतरामा छ, राजनीतिको नाडी छाम्दा त्यही देखिन्छ।’
अर्का पूर्वउपसभापति विजयकुमार गच्छदारले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्। महाधिवेशनका विषयमा विवाद गर्न नहुने भन्दै उनले भने, ‘विशेष महाधिवेशनमा जान हुन्न, बरू नियमित महाधिवेशनमा जानुपर्छ।’
बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले पनि विशेष महाधिवेशनमा गए पार्टी एक नरहने आशंका व्यक्त गरे। विशेष महाधिवेशनमा जानु जंगलमा जानु जस्तै भएको बताउँदै लेखकले भने, ‘जहाँबाट निस्कने एउटै बाटो हुने छैन, त्यहाँबाट निस्कँदा हामी अलगअलग बाटोमा हुनेछौं।’
लेखकले विशेष महाधिवेशनको माग गर्दै पार्टीमा बुझाइएको हस्ताक्षर फिर्ता लिएर नियमित महाधिवेशनमा जानुपर्ने तर्क गरेको जानकारी बैठकमा सहभागी अर्का नेताले दिए।
केन्द्रीय सदस्य जितजंग बस्नेतले महामन्त्री गगनकुमार थापाको प्रस्तावले नै पुसमा महाधिवेशन असम्भव पुष्टि गरेको बताए।
महामन्त्री थापाले पार्टी कब्जा गर्ने नियतबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएको आरोप बस्नेतको थियो। बस्नेतलाई उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने, ‘हामीसहित धेरैको रगत, पसिना, त्याग र समर्पणबाट यो पार्टी निर्माण भएको हो, कसैले पनि सहजै कब्जा गर्ने नसोच्नुहोला।’
बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य बलबहादुर केसी, नारायण खड्का, कल्पना चौधरी, सुजाता परियार, श्यामकुमार घिमिरेले पनि धारणा राखेका थिए। बैठक बिहीबार पनि बस्नेछ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’