फेदीखोलामा एकैपटक दुई नयाँ पुल निर्माण

फेदीखोलामा एकैपटक दुई नयाँ पुल निर्माण

jholunge-pul-fedikhola2

स्याङ्जाको फेदीखोला गाउँपालिकामा एकैपटक दुई नयाँ पुल निर्माण भएका छन् । यहाँको वडा नं.–२ मा लामाचौर–स्थानचौर र लामाचौर–चनौटे जोड्ने दुई नयाँ पुल निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो ।

नेपाल सरकारको क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत अन्धा अन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाको सामाजिक तथा प्राविधिक सहयोग र उपभोक्ता समितिको नेतृत्वमा पुल निर्माण गरिएको हो ।

लामाचौर–चनौटे जोड्ने ९० मिटर लामो पुल ७५ लाख ४३ हजार एक सय ७० रुपैयाँ ३४ पैसामा तयार भएको हो । त्यस्तै, लामाचौर–स्थानचौर जोड्ने ३२ मिटरको ट्रस पुल ३३ लाख ४८ हजार दुई सय पाँच रुपैयाँ ६३ पैसामा निर्माण भएको जनाइएको छ । निर्माण लागतमा सङ्घीय सरकारले ८५ प्रतिशत, गाउँपालिकाले १३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत श्रमदानमार्फत सहभागिता जनाएका हुन् ।

लामाचौर–चनौटे पुलबाट एक हजार २६ जना र लामाचौर–स्थानचौर ट्रस पुलबाट ७७० जनाले प्रत्यक्ष लाभान्वित भएको अन्धा अन्धी सामुदायिक विकास केन्द्रका कार्यालय प्रमुख एक नारायण सापकोटाले बताए ।

स्थानीय विकासमा जनसहभागितालाई मुख्य आधार बनाएर पुल निर्माण गरिएको बताउँदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले यो केवल संरचना बनेको दिन मात्र होइन, स्थानीयको वर्षौंदेखिको अपेक्षा पूरा भएको क्षण पनि भएको बताए ।

सुवेदीका अनुसार एकताबद्ध प्रयासले दुर्गमतालाई नजिक्याउँदै दैनिक आवतजावत सहज बनाउने लक्ष्य पूरा भएको बताउँदै सुवेदीले एकैपटक बनेका यी दुवै पुल संचालनमा आएसँगै विद्यालय, बजार तथा सेवा केन्द्र आवातजावतमा सहज भएको बताए ।

पुलहरूको दीर्घकालीन व्यवस्थापनका लागि पालिकाले छुट्टाछुट्टै समिति पनि गठन गरेको छ । लामाचौर–स्थानचौर ट्रस पुलका लागि गंगाप्रसाद गौतम संयोजकत्वमा पाँच सदस्यीय समिति तथा लामाचौर–चनौटे सस्पेन्सन पुलका लागि इमानसिंह गोदार संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds