एमाले प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा विद्या भण्डारीको अपिल- मेरो सदस्यता अनुचित ढंगले रोकिए पनि अभिन्न सदस्यको रूपमा साथमा छु

राजनीति

एमाले प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा विद्या भण्डारीको अपिल- मेरो सदस्यता अनुचित ढंगले रोकिए पनि अभिन्न सदस्यको रूपमा साथमा छु

bidhya bhandari

तस्बिर: रत्न श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा विद्या भण्डारीले महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै भण्डारीले भनेकी छन्, ‘मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेका कारण म स्वयम्‌को यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।’

विद्यादेवी भण्डारीको अपिल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो । 

विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पंक्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ ।

मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु । 

सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै शुभेच्छा व्यक्त गर्दछु ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ