काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् ।
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रहेको उनले बताए ।
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको बताए । उनले पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाए ।
‘सम्झिइरहेको छु, तीन महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो ।’
अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको बताए । ‘धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ । म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ,’ उनले भने ।
एमाले देशभक्त र जनताको हितमा समर्पित पार्टी रहेको भन्दै ओलीले जनताले राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।
भदौ २३ र २४ मा जेन-जी प्रदर्शन भएको थियो । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । भदौ २४ मा काठमाडौं लगायत देशभर विध्वंश हुँदा ओलीले राजीनामा दिनुपरेको थियो । महाधिवेशनमा ओलीले ती दिन सम्झिएका हुन् ।
सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार भने फरक, सन्तुलित र प्रतीकात्मक अभिव्यक्तिसहित प्रस्तुत भए।
उनको सन्देशमा एमालेभित्रको आन्तरिक एकता नै अहिलेको पहिलो शर्त देखिन्थ्यो भने युवा पुस्ताको चाहना र आवश्यकतालाई स्वभाविक मानिए पनि त्यसलाई हाई ज्याक गरेर गरिएको विध्वंस र त्यसपछि बनेको सरकारविरुद्ध कडा प्रतिवाद गरेका थिए । उनले पार्टीको ११ औँ महाधिवेशनको अङ्कको अर्थ नै पार्टीको आन्तरिक एकता भएको तर्क गरे । ‘एक–एक मिलेर एघार बनौँ’ यो नै एकताको दर्शन‘ उनले भनेका छन् ।
उनले थपे–‘‘एक एमालेले अर्को एमालेसँग हात मिलायो, मन जोड्यो भने हामी साधारण एक–एक रहँदैनौँ, हामी एघार बन्छौँ। तर रिस, घात–प्रतिघातमा गयौँ भने हामी एक–एकमै सीमित हुन्छौँ।’
कार्यक्रम स्थलको दृश्य र अव्यवस्था
औपचारिक कार्यक्रम सुरु हुनुअघि नै सल्लाघारी क्षेत्र खचाखच भरिएको थियो। जुलुसहरू एक किलोमिटर टाढाबाट आइरहेका थिए। मोबाइल नेटवर्क अवरुद्ध हुँदा कार्यकर्ताले प्रत्यक्ष प्रसारण गर्न सकेनन् भने पत्रकारलाई समाचार संकलनमै समस्या देखियो। धुलो, अव्यवस्था र भीडका बीच पनि कार्यकर्ताको ऊर्जा भने उच्च देखिन्थ्यो। ओलीको सम्बोधन सकिँदासम्म पनि टाढा टाढाबाट नारा लगाउँदै सहभागीहरू आइरहेका थिए।
उपमहासचिवको सञ्चालन र महासचिवको स्वागत, अलमलमा वरिष्ठ उपाध्यक्ष
महाधिवेशनको सञ्चालन परम्पराअनुसार महासचिवले गर्ने चलन रहे पनि यस पटक उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरे। महासचिव शंकर पोखरेलले सम्बोधन गरे तर पार्टी वरियतामा दोस्रो स्थानमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वागत वा सम्बोधनको प्राथमिकतामा परेनन्— जसले आन्तरिक राजनीतिक सन्देश दिएको देखियो।
ठूला दलका शीर्ष नेताको अनुपस्थिति- अर्थपूर्ण सङ्केत
राजधानी नजिकै भएको एमालेको ऐतिहासिक महाधिवेशनमा देशका ठूला दलका शीर्ष नेताहरू स्वयं उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नआएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित रहे। मधेस केन्द्रित दलका शीर्ष नेता पनि आएनन्। जेन–जी आन्दोलनबाट सबैभन्दा बढी क्षति भोगेको एमालेको यो महाधिवेशन शीर्ष नेताको प्राथमिकतामा किन परेन रु यो प्रश्न सहभागी कार्यकर्ताबीच अर्थपूर्ण बहसको विषय बन्यो।
कसले के भने ?
विप्लवको प्रतिरक्षा- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेमाथि भएको हमला राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै परिणाम भएको बताए।
‘यो हमला साम्राज्यवादी योजनाअन्तर्गत भएको हो।’ उनले अहिलेको सरकारलाई अवैधानिक र कठपुतली को संज्ञा दिए र सर्वपक्षीय सरकारबाट चुनावको विकल्प नभएको बताए। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले उनी एमाले पक्षमा लागेर आफ्नो एकतामा नआएको आरोप लगाइरहेका बेला विप्लवले खुलेर एमालेको प्रशंसा गरेका थिए ।
उनले एमालेविरुद्धको भयानक प्रहार सामान्य अवस्थाको नरहेको जनाएका थिए । निर्वाचनमा जान रास्वपाको आग्रहस् महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले चुनावमा भाग लिएर संविधानलाई लिकमा ल्याउन ढिलाइ नगर्न आग्रह गरे। जेन–जी आन्दोलनको क्षतिमा सबै दलले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
फुटको अनुभव बुझेर अघि बढ्न कांग्रेसको सन्देशस् कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्दा र जुट्दाको पीडाबाट शिक्षा लिन आग्रह गर्दै सहमति वा मैत्रीपूर्ण प्रतिस्पर्धा मा नेतृत्व छान्न सुझाव दिए। भने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा, दल र जेन–जीबीच नयाँ समझदारी को आवश्यकता औँल्याउँदै संविधान नै ‘मरिसकेको’ दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकताको विकल्प नभएको भन्दै उनले वामपन्थीहरूबीच सहकार्य अपरिहार्य भएको बताए।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्छः राप्रपा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला