अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो

भ्रष्टाचार

अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो

bhim-upadhyaya

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेलसमेतका प्रतिवादीहरू विरुद्ध पुनरावेदन गरेको हो ।

अख्तियारका अनुसार काठमाडौँ उपत्यकामा पानी ल्याउन हचुवाको भरमा बिना विश्लेषण ’माइलस्टोन’ तय गरेको आरोप उनीहरूमाथि छ । निर्माण व्यवसायीको क्षमता र नगद प्रवाह कमजोर भई आयोजनाको प्रगति सुस्त भएको थाहा हुँदाहुँदै सम्झौता र प्रचलित कानुन विपरीत निर्माण व्यवसायीलाई आर्थिक लाभ हुने गरी काम गरेको दाबी अख्तियारको छ ।

यस्तै, कानुनले तोकेभन्दा बढी ठेकेदारलाई दुई किस्तामा अतिरिक्त मोबिलाइजेसन पेस्की दिएको, सम्झौता बमोजिम भुक्तानीका लागि पेश गरेको बिलमा ’प्रोभिजनल पेमेन्ट’ बापतको रकम असुली नगरेको र प्रत्येक आईपीसीमा ’रेन्टल चार्ज’ मूल्याङ्कन गर्दै बिलबाट कट्टी गरी असुल उपर गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाइएको छ ।

यी कार्यहरूबाट सरकारी सम्पत्ति हानी नोक्सानी भएको र निर्माण व्यवसायीलाई लाभ पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको थियो ।

यसअघि आयोगले दायर गरेको मुद्दामा विशेष अदालत, काठमाडौँले २०८१ भदौ १६ गते फैसला गर्दै प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो ।

विशेष अदालतको उक्त फैसलामा सरकारी सम्पत्ति हानी नोक्सानीमा संलग्नहरूलाई उन्मुक्ति मिलेको जिकिर गर्दै आयोगले सो फैसला त्रुटिपूर्ण रहेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमामा उल्लेख छ ।

आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको मुद्दामा १७ जना (संस्थासहित) लाई प्रतिवादी बनाइएको छ–

१. डा. सञ्जय शर्मा

२. भीमप्रसाद उपाध्याय

३. गजेन्द्रकुमार ठाकुर

४. मुकुन्दप्रसाद पौडेल

५. रुद्रसिंह तामाङ

६. चन्द्रबहादुर थापा

७. घनश्याम भट्टराई

८. रामचन्द्र देवकोटा

९. सूर्यराज कँडेल

१०. मणिभद्र न्यौपाने

११. रामचन्द्र न्यौपाने

१२. वेगनाथ पौडेल

१३. केदारप्रसाद अर्याल

१४. भोजविक्रम थापा

१५. शिवकुमार शर्मा

१६. Eptisa Services De Ingenieris S.L. र BETS Consulting Services Ltd. JV (परामर्शदाता कम्पनी) १७. CMC di Ravenna (निर्माण व्यवसायी कम्पनी)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ